लुम्बिनी- लुम्बिनी प्रदेशस्तरीय राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि आज मतदान हुदैछ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा उपनिर्वाचन हुन लागेको हो ।
दाङको घोराहीस्थीत कर्मचारी मिलन केन्द्रमा हुने मतदानका लागि २ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । एक जना सदस्य चयन गर्न उपनिर्वाचन हुन लागेको हो ।
नेकपा एमालेका कुमार दसौँदी, नेपाली काग्रेसका माधब आचार्य र नागरिक उन्मुक्ति पार्टिका राजेन्द्रवीर रायबिच प्रतिस्पर्धा हुदैछ । उपनिर्वाचनमा ३०५ जना मतदानमा भाग लिदैछन् ।
एक सिटका लागि हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनमा १ सय ९ पालिकाका २ सय १८ जना प्रमुख उपप्रमूख र लुम्बिनी प्रदेस सभाका ८७ जना प्रदेससभा सदस्य गरी तीन सय ५ जना मतदाता रहेका छन् ।
लुम्बिनी प्रदेशका एक सय नौ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले तीन, जनमोर्चा र लोसपाले दुई–दुई तथा राप्रपा र जनता प्रगतिशीलले एक–एक स्थानमा जितेका छन् ।
त्यसैगरी ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा, नागरिक उन्मुक्तिले चार–चार, जसपा, लोसपा, जनमतले तीन–तीन, जनमोर्चा र नेकपा एसले एक–एक, स्वतन्त्रबाट दुईजनाले जितेका छन् । मतदाताहरुको सख्ंयालाई आधार मान्दा अहिलेको सत्ता गठबन्धनमा रहेका दलको बहुमत सहज देखिन्छ ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९ ०८:१९