वेलिङ्टन– न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिना अघि नै चुनाव गर्ने मिति घोषणा गरेको हो । अब न्यूजील्याण्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ । प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी गरेका छन् ।
चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले मेरो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताए । अन्तर्राष्ट्रिय रूपमा पनि निकै चर्चित प्रधानमन्त्री आर्डनले क्राइस्टचर्चमा भएको हत्या र ह्वाइट भोल्कानोमा भएको दुःखद घटनालाई संवेदनशील रूपमा सम्हाल्न सफल भएको थियो । विदेशमा प्रधानमन्त्री आर्डनको लोकप्रियता कायमै रहे पनि स्वदेशभित्र भएको मतसर्वेक्षणमा कमजोर देखिएका छन् । सरकारको महत्वाकांक्षी किवीबिल्ड परियोजना आशातित रूपमा अघि बढ्न नसकेपछि उनको चर्को आलोचना भइरहेको छ । यस योजना बमोजिम सस्तो लागतमा एक लाख घर निर्माण गर्ने भनिए पनि त्यो लक्ष पूरा हुन सकेको छैन । (रासस÷एएफपी)
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६ ०९:०२