नेपालगन्ज । जेष्ठ २३ ।
बाँकेको ईन्द्रपुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । इन्द्रपुरमा सम्पन्न आम भेलाले वडामा रहेका बालवालीकाहरुको तथ्याङक भाद्र सम्म संकलन गर्ने, वडालाई मंसिर मसान्त सम्ममा पूर्ण खोप वडा घोषणा गर्ने, कार्यालयबाट प्रवाह गर्ने सेवा लाई सेवाग्राही मैत्री बनाउने, ईन्द्रपुरका साविकका वडा नं. ३ र ४ मा खोप सेवा प्रदान गर्न नसकिएकोले भाद्रमा ति वडाहरुमा खोपका बारेमा अभिमुखिकरण कार्यक्रम गर्ने र सो अभिमुखिकरणमा जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत उपस्थितीका लागि अनुरोध गर्ने, गर्भवति जाँचका बारेमा थप सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, स्वास्थ्य चौकी कार्यालय साघुरो र असुरक्षीत भएकाले कार्यालयको बाउण्ड्री निर्माण गरि रंगरोगन र मर्मत गर्ने र कार्यालयको नयाँ भवन निर्माणका लागि जग्गाको ब्यवस्थापन गर्ने कार्ययोजना निर्माण गरिएको छ ।
आम भेलाको खुल्ला छलफल पूर्ब स्वास्थ्य चौकीले गरेका प्रगति तथा आय ब्ययका बारेमा स्वास्थ्य चौकी ईन्चार्ज गगन सिंह साँउदले तथ्यांकहरु प्रश्तुत गरेका थिए । कार्यक्रममा बासका उपनिर्देशक तथा सामाजिक परिक्षक हेमराज भट्टले अवलोकन, कर्मचारी र ब्यवस्थापन समिति सँगको अन्तरक्रिया, समुह केन्द्रीत छलफल, सेवाग्राही भेटघाटका क्रममा पाएका तथ्यहरु प्रश्तुत गरेका थिए । त्यस पश्चात भएको खुल्ला छलफलमा सहभागीहरुले स्वास्थ्य चौकीबाट पर्याप्त औषधी उपलब्ध गराउनु पर्ने, कार्यालय ब्यवस्थापन गर्नुपर्ने, सेवा प्रवाहलाई थप चुस्त दुरुस्त बनाउनु पर्ने लगायतका सुझाव दिएका थिए । बासका कार्यक्रम संयोजक शम्भु शाहीले संचालन गरेको कार्यक्रममा ५२ जनाको सहभागीता रहेको थियो ।