काठमाडौं– दोल्ती पावर कम्पनीले फगुन ८ बाट साधारण सेयर ( आईपीओ) बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार आईपीओ आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई लक्षित गरेर आईपीओ बिक्री खुलाउने भएको हो ।
स्थानीयका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतका दरले आईपीओ बिक्री खुलाउने छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुलाउने छ ।
यो सेयरमा दैलेख जिल्लाका नौमुले र कालिका गाउँपालिकाका स्थानीयले आवेदन दिन पाउनेछन् । यस्तै, सोही जिल्लाका जिल्लावासीले समेत आवेदन दिन पाउने बताइएको छ ।
यसका साथै, वैदेशिक रोजगारीमा गएकाहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता सेयर बिक्री खुलाउने छ । यो सेयरमा नेपाल सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएकाहरुले मात्रै आवेदन दिन पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ ११:२८