काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आइतबार ट्रमा सेन्टरका चिकित्सकमाथि भएको कुटपिटपछी उत्पन्न भएको समस्याको विरोधमा आज आईतबार स्वास्थ्य सेवा बन्द गर्ने निर्णय चिकित्सक संघले फिर्ता लिएको छ । सरकार र नेपाल चिकित्सक संघबीच ६ बुँदे सहमति भएपछि सो निर्णय फिर्ता संघले फिर्ता गरेको हो ।
आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको संघ र सरकारी पक्षबीच भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । सहमतिसँगै आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेर आन्दोलित बनेका देशभरका चिकित्सक काममा फर्किएका छन् ।
आन्दोलन स्थगित भएपछि संघले जारी गरेको विज्ञप्तिमा घटनामा घाइते भएका चिकित्सकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने खर्च सरकारले बेहोर्ने सहमति भएको छ ।
यस्तै सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन शुरु भई सकेकोले समग्र पक्षमा एक हप्ताभित्र छानविन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने विषयमा सहमति भएको छ ।
यसैगरी विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्दा बिरामी एवं आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायतका संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने गरी “विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७” मा गर्नुपर्ने परिमार्जनसम्बन्धमा नेपाल सरकारसमक्ष एक हप्ता भित्रमा सुझाव पेश गर्ने सहमति पनि भएको छ ।
सुझाव प्राप्त पछि सरकारले त्यसलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने सहमति भएको छ ।
शुक्रवार दिउँसो राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटोमा हिँडेको भन्दै ट्रमा सेन्टरका चिकित्सक डा जनिथलाल सिंह कुटिएका थिए ।