काठमाडाैं - रासस कर्मचारी सङ्घले यस वर्षको वासु रिमाल यात्री पुरस्कार कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र सवारी चालक यादवप्रसाद गोतामेलाई दिने निर्णय गरेको छ ।
सङ्घको आज बसेको बैठकले जनही रु सात हजार ७७७ राशिको पुरस्कार बस्नेत र गोतामेलाई दिने निर्णय गरेको सचिव छविलाल कुमालले जानकारी दिए ।
गत वर्षसम्म पुरस्कारको रकम रु पाँच हजार एक थियो । यसै वर्षदेखि राशि बढाइएको सङ्घले जनाएको छ । सङ्घले विसं २०६६ देखि यो पुरस्कार राससमा कार्यरत वरिष्ठ कर्मचारीलाई दिन थालेको हो ।
कार्यकारी सम्पादक बस्नेत विसं २०५३ देखि २०५६ सम्म तनहुँ जिल्ला समाचारदाताका रूपमा कार्यरत हुन्। उनी विसं २०५६ फागुन १९ देखि अधिकृतस्तर छैटौँ तहबाट स्थायी सेवा प्रवेश गरेका हुन् ।
उनले रासस सञ्चालक सदस्य, समाचार सङ्कलन शाखा प्रमुख, नेपाल पत्रकार महासङ्घको रासस प्रतिष्ठान शाखा अध्यक्ष भई काम गरिसकेको छ । हाल उनी कार्यकारी सम्पादकका साथै प्रदेश एवं जिल्ला समाचारदाता संयोजकका रूपमा समेत कार्यरत हुन् ।
यसैगरी सवारी चालक गोतामे विसं २०४७ फागुन १ गते कार्यालय सहयोगीका रूपमा रासस सेवा प्रवेश गरेको हो । विसं २०५० असोज १ गतेदेखि स्थायी भई कार्यरत रहेको छ । उनी २०६२ सालदेखि सवारी चालकका रूपमा कार्यरत हुन्।
पुरस्कार राससको ६२ औँ वार्षिकोत्सवका अवसरमा आगामी फागुन ७ गते प्रदान गरिने छ ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ १८:१८