नवलपरासी पश्चिम- नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाको आयोजनामा मंगलबार सामी कार्यक्रम अन्तर्गत भएको समुदायका अगुवाहरुलाई आप्रवासनको असर तथा प्रभाव, कामदारहरुलाई सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरण सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वैदेशिक रोजगारमा गएका युवा र तिनीहरुको परिवारलाई समाजमा सहजता प्रदान गर्न र तिनीहरुलाई उद्धम संग जोडी स्वरोजगार बनाउन सो अन्तरक्रिया गरिएको सामी परियोजना कार्यक्रमका जिल्ला संयोजक ज्ञानेश्वर भण्डारीले बताए ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका उप प्रमुख मान कुमारी चौधरीले गरिन् । विभिन्न संघ संस्थाका अगुवा र सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले वैदेशिक रोजगारमा रहेका पुरुष र महिला कामदारहरु प्रति परिवार र समाजमा देखिएका अमानवीय र अव्यावहारिक क्रियाकलापको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उमेशचन्द यादवले युवाहरु वैदेशिक रोजगारीमा जादा समाजमा धेरै जसो समस्या र असर महिलालाई पर्ने हुँदा महिलाको स्वरोजगार र उनीहरुको दैनिक जिवनमा पर्ने कठिनाईहरुलाई सामी परियोजना कार्यक्रमले ठुलो सहयोग गरेको बताए ।
उनले महिलाको स्वरोजगार र उनीहरुको सिप विकासको लागि गाउँपालिका प्रतिबद्ध रहेको समेत जानकारी दिए । समाज र समुदाय देखिएका यस्ता व्यवहारलाई न्युनिकरणमा सबै राजनितीक दल, संघ संस्थाका अगुवा र सरोकारवाला लागि पर्नेमा जोड दिए ।
वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक लागत न्युनिकरण,वैदेशिक रोजगारमा रहेका कामदारहरुका परिवारलाई विशेष गरि महिला कामदार तथा युवा कामदारका श्रीमतीहरुलाई सामाजिक लाअ्छना तथा त्यसका असर र महिला कामदारहरु तथा बैदेशिक रोजगारीमा रहेका पुरुष कामदारका श्रीमतीहरुले परिवार तथा समाजमा पुर्याएको सकारात्मक योगदान बारे छलफल गरिएको थियोे ।
यसैगरी समाजका अगुवाहरुको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, बृद्धिजिवीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ०७:२५