कैलाली - कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन थालिएको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर मस्यौरा र गुन्द्रुक उत्पादन सुरु गरेका हुन् ।
उनीहरूले पहिलो दिन २५ केजी मस्यौरा उत्पादन गरेका छन् भने गुन्द्रुक ५० केजीका १५ ड्रम र सिन्की ५० केजीका ६ ड्रम उत्पादनको तयारीमा रहेका छन् । तयारी भएको मस्यौरा गुणस्तर परीक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको छ ।
मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरि पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् ।
यसरी उत्पादन भएको मस्यौरा र गुन्द्रुक नेपालमै खपत हुने र विदेशमा समेत पठाउन सकिने उनीहरू बताउँछन् । मस्यौरा तयार गर्ने मेसिनमा १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ ।
सत्र जना महिलाले एक(एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाउने भएको छ ।
किसानले मुलाको मूल्य बजारमा व्यापारीबाट प्रतिकेजी १०, काउली १० र पिडालुको मूल्य ३० र कुपिण्डो ३० रूपैयाँमा बिक्री गर्ने गरेका थिए भने अहिले मुला १५, काउली १५, पिडालु ४० र कुपिण्डोको ४० रूपैयाँ पाउन थालेका छन् ।
विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए । उनले भने, ‘मूल्य त खासै पाइएको छैन तर विगतमा बजार नपाएर तरकारी फाल्नुपर्ने अवस्था थियो । मूल्य कम पाए पनि बजार नपाउने चिन्ता टरेको छ ।’
मालिका महिला उद्यमी कम्पनीका कोषाध्यक्ष सिर्जना पण्डितले १७ जनाले एक(एक लाख लगानी गरेर उद्योग सञ्चालन गरेका बताइन् ।
उनले भनिन, ‘हातले घरेलु प्रविधिबाट कात्तिकदेखि मस्यौरा बनाउन थालेका थियौँ । बजारको मागबारे बुझेपछि थप लगानी गरेर मेसिनबाट उत्पादन गर्न थालेका छौँ ।’ उत्पादनका लागि बजारको समस्या नभएको उनको भनाइ छ ।
उनले भनिन, ‘बिक्रीका लागि समस्या छैन, काठमाडौंबाट हाम्रो उत्पादन लिन फोन आइरहेका छन् । हामीले उद्योग सञ्चालन गरेपछि मुला, कुपिण्डो र पिडालु यही खपत हुने भएको छ । यस क्षेत्रमा उत्पादन भएको कुपिण्डो र पिडालु सस्तो मूल्यमा भारतीय व्यापारीले घर(घरबाट लिने गरेका थिए, अब हामीलाई दिने भएका छन् ।
महिलाहरूले गुन्द्रुक तयार गर्न आवश्यक साग हाटबजारमा गएर खरिद गर्ने गरेका छन् भने पिडालु र कुपिण्डो खोज्न गाउँ(गाउँ जाने गरेका छन् । सबैको समान सहभागिताका आधारमा आफैँले काम गरिरहेका उनले बताइन् ।
मालिका महिला उद्यमी कम्पनीका अध्यक्ष कल्पना जैसीले महिलालाई रोजगारसँग जोड्न उद्योग खोल्ने सल्लाह गरेर उद्योग स्थापना भएको बताइन् ।
उनले भनिन्, ‘कच्चा पदार्थ स्थानीयस्तरमै पाइने, राम्रो व्यवस्थापन गरेमा स्वदेश तथा विदेशमा राम्रो बजार भएकाले हामी उत्पादनमा लागेका हौँ । महिलाहरू पनि आयआर्जनका कार्यमा लाग्नुपर्यो भनी हामी काममा जुटेका छौँ ।’
महिलाले उत्पादन गरेका सामान व्यापार महासङ्घले बजारीकरण गरिदिने बताएको छ । उनले भनिन्, ‘हामीले उद्योगमा करोडौँ लगानी गर्ने, एकै दिनमा धेरै उत्पादन गर्ने, अझै ठूला मेसिन थप्ने योजना छ । दैनिक सयौँ जना महिलालाई रोजगार दिने वातावरण बनाउछौँ ।’
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ११:१९