काठमाडौं– ट्याक्सीमाण्डुमार्फत आज दिनभर निशुल्क ट्याक्सी सेवा लिन पाईने भएको छ । यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरूको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निशुल्क सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
आज सार्वजनिक यातायात बन्दका कारण आफ्नो गन्तव्यमा पुग्ने यात्रुहरूले ट्याक्सीमाण्डु एपमार्फत निशुल्क सेवा लिन सक्ने छन् । यातायात व्यवसायी र मजदुरका कतिपय माग जायज भए पनि अत्यावश्यक सेवाको रूपमा रहेको यातायात बन्द गरिँदा सर्वसाधारणमाथि पर्ने असरलाई मध्यनजर गर्दै निशुल्क सेवा सुचारु गरिएको ट्याक्सीमाण्डुका सीईओ अर्जुन केसीले जानकारी दिए ।
निशुल्क सेवा प्रयोग गर्न NEPALRIDE प्रोमो कोड प्रयोग गर्नुपर्ने पनि केसीले बताए । ट्याक्सीमाण्डु सम्पुर्ण रूपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निशुल्क गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ११:२९