काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाको ‘बी’ टिमबाट खेलेका पूर्व डिफेन्डर खेलाडीलाई मनाङ मर्स्याङ्दी क्लबले भित्रयाएको छ । मनाङ मर्स्याङ्दी क्लबले सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि सेनेगलका डियावान्डोउ डियाग्नेलाई भित्र्याएको हो।
डियावान्डोउसँग युरोपका विभिन्न क्लबबाट खेलेको अनुभव छ।
डिफेन्सिभ मिडफिल्डर उनी सन् २००८ कतारको एस्पायर एकेडेमीमा छनोट भएका थिए। उनी २०१२ मा बेल्जियमको दोस्रो डिभिजनको क्लब युपेनमा आबद्ध भएका थिए भने २०१४ मा बार्सिलोनामा पुगेका थिए।
बार्सिलोनाको रिजर्भ टिमको रुपमा रहेको बार्सिलोना बी टिमबाट उनले २०१४ देखि २०१५ सम्ममा २७ खेल खेलेका थिए। २०१५ मा उनी बार्सिलोनाको मूख्य टिमका लागि बोलाइए पनि खेल्न भने पाएका थिएनन्।
त्यसपछि उनी फेरि बेल्जियममै फर्किएर युपेनबाट तीन सिजनमा ९३ खेल खेलेका थिए।
सन् २०१९ मा उनी भारतको आइएसएल टिम ओडिसा एफसीबाट खेलेका थिए। सन् २०२१ मा उनी फिनल्यान्डको प्रिमियर लिग खेल्ने क्लब एफसी केटिपीसँग आबद्ध भएका थिए। उनले फिनिस क्लबबाट ९ खेल खेले।
उनले सेनेगलको यू–१७ टिमबाट सन् २०११ मा र यू–२० टिमबाट २०१२ मा खेलेका थिए। उनले सेनेगलको राष्ट्रिय टिमबाट २०१४ मा दुई खेल खेल्ने अवसर पाएका थिए।
pc: Thies info
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ११:११