वैकुण्ठ भण्डारी-माघ सकिएर फागुनको शुभारम्भ हुँदै गर्दा बिहान हुन नपाउँदै कुखुरा बास्यो । कुखुरा बासेको आवाजले मट्याङ्ग्रो ज¥याकजुरुक्क उठेर सिरानीछेउको बत्तीको स्वीच थिच्छ, पाँच वाटे चिमको धमिलो उज्यालोमा सिरानीमाथिको भित्त घडी नियाल्छ । ३ पनि बजेको छैन । मट्याङ्ग्रो कुखुरालाई सराप्दै सिरक ओड्छ । तर निदाउन सक्दैन । आँखा खुल्ला गरेर मनमा कुन्नि के–के कुरा खेलाउँछ, दाहिने हातले सिरक फालेर जुरुक्क उठ्छ । तामाको अम्खोरामा राखेको पानी घट्घटी पिउँछ अनि भित्तामा माला लगाएर झुण्ड्याइएको छोरीको फोटोमा गएर सुम्सुम्याउँछ । र, श्रद्धाको दुई थोपा आँशु खसाल्छ ।
एक्लो मट्याङ्ग्रोको आँखाबाट झरेको आँशु न त छोरीले देख्छे न त आँशु पुछ्ने कोही नै साथमा छ । छ त केवल भित्तामा झुण्ड्याइएको छोरीको फोटो, अनि टकऽटक बजिरहेको भित्ते घडी । भित्ताको घडी टकऽटक बजिरहेको छ, लाग्छ मट्याङ्ग्रोको आँखाबाट झरेको आँशुलाई संगीत दिइरहेको छ । त्यही सांगीतिक आँशुसँगै बिहानीको मिर्मिरे उज्यालो पूर्वपट्टी रहेको झ्यालको प्वालबाट चियाइरहेको छ ।
‘हुँदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ।’
भूपि शेरचनले लेखेका हरफ मट्याङ्ग्रोको मस्तिष्कमा खेल्छ र छोरीको फोटोलाई भन्छ, ‘बुझिस् छोरी ? यी भूपि त निकै गलत रहेछन् । मनगढन्ते एक दर्जन शब्द चर्चामा ल्याए । सबैलाई कण्ठस्थ तुल्याए । अनि भ्रममा पारे ।’ म जस्ता एक्ला बाउहरुलाई सधैं रुवाए ।
‘होइन बा, भूपिले भनेको साँच्चै नै हो । मुलुक बनाउनका लागि तपाईंकी छोरी पल्ला घरे साइला काकाको छोराजस्ता हजारौंले आफ्नो बलिदान दिएर त गणतन्त्र आएको छ ।’ कता–कता छोरीकै आवाजमा बोलेको जस्तै गरी मट्याङ्ग्राको मथिंगलमा खेल्छ ।
२७ वर्षअघि मुलुकमा सर्वहारा वर्गका लागि, शोषक, सामन्तीहरुका विरुद्ध, सर्वहारा वर्गको वर्गीय उत्थानका लागि भन्दै नेकपा माओवादी, संयुक्त जनमोर्चाका नामबाट विद्रोह गरेको दिन । मट्याङ्ग्रो सम्झन्छ, त्यो कहाली लाग्दो १० वर्ष । अनि आफ्नी छोरी, साइला भाइको छोरा । जसले साँच्चै नै मुलुक बनाउनका लागि भन्दै सशस्त्र विद्रोहमा लागेर आफ्नो ज्यान अर्पण गरेका । त्यो संघर्षले व्यवस्था त फेरियो तर अवस्था फेरिएन । मट्याङ्ग्राहरु २७ वर्षअघि जुन अवस्थामा थिए अहिले पनि त्यही अवस्थामा छन् । बरु २७ वर्षअघिको भन्दा पनि संघर्ष र कठोर जीवनयापन गर्न बाध्य भएका छन् ।
साँच्चै नै मुलुक बनाउनका लागि ज्यान गुमाएर गएकाहरु सालिक बनेका छन् । सर्वहारा वर्गको उत्थान गर्छु भनेर हिँडेकाहरु यो देशका मालिक भएका छन् । मट्याङ्ग्रो सम्झन्छ झापाको सुनखानी काण्ड । ‘कि त जोत हलो कि त छोड थलो, होइन भने अब छैन भलो’ भन्ने भीमदत्त पन्त सम्झन्छ । अनि फेरि छोरीको तस्बिर हेर्छ र भन्छ, ‘छोरी सरकारले आज सार्वजनिक बिदा दियो रे ! भर्खरै कुखुरा कुबेला बासेपछि पो थाहा पाएँ ।’ आफैं दंग पर्दै मट्याङ्ग्रो भन्छ, ‘यो बिदाले के परिवर्तन हो ?’ तिमीजस्ता हजारौं छोराछोरीको बलिदान यसकै लागि हो र ? म जस्ता हजारौं ‘बा’हरुले साँच्चै नै श्रमिक, किसान, मजदुर अनि सीमान्तकृत वर्गको परिवर्तन भएको देख्न पाउनु पर्दथ्यो । तर, ती त सबै सपना रहेछन् । ‘तिम्रो बलिदानी केही व्यक्तिको परिवर्तनका लागि रहेछ । एउटा मालिकलाई धपाएर दर्जनौं नयाँ मालिक भित्र्याउन पो रहेछ ।’ बुझ्यौ छोरी ?
विचरी निर्जिव तस्बिरमा टाँसिएकी छोरीको के आवाज आउँथ्यो र ? उनले त जुनबेला जनयुद्धमा होमिइन् त्यसको केही वर्षमा नै ज्यान गुमाइसकेकी थिइन् । छोरीले साँच्चिकै देश परिवर्तनका लागि प्राण आहूति गरेको भान गरिरहेको मट्याङ्ग्रो यतिबेर भने दिक्क मानिरहेको छ । आफ्नी छोरी र साइला भाइको छोराजस्ता हजारौंले प्राण फाले । हजारौं छोराछोरी अझै पनि अपांग भएर मागेर खानुपर्ने अवस्था छ । हजारौं जनयुद्धमा होमिएका युवाहरु खाडीमा रगत बगाउन बाध्य भएका छन् । तर, परिवर्तन त तिनकै लागि भयो जसले आमजनतालाई सपनामा राखिरहेका थिए । मालिक बन्ने सपना बोकेर मट्याङ्ग्राका सन्तानलाई सालिक बनाउनेहरुका लागि मात्र देखियो ।
२७ वर्षअघि मुलुक परिवर्तन गर्नका लागि सुरु भएको जनयुद्ध त ‘धनयुद्ध’का लागि पो रहेछ । माओवादीका लागि जनयुद्ध दिवस धनयुद्धमा परिणत भयो । सामाजिक परिवर्तन गर्छु भन्नेहरु सुकिला मुकिलाहरुलाई सराप्दै आफैं परिवर्तन भए । मट्याङ्ग्राहरु त दर्शक त हुन् । सत्तामा पुगेर कलाकारिता प्रदर्शन गर्नेहरुले जस्तो अभिनय गरे पनि जबर्जस्ती हेरिदिनुपर्ने ! हो अहिले जनयुद्ध दिवस पनि त्यस्तै भएको छ । जनयुद्ध लडेर व्यवस्था नै परिवर्तन गर्न सक्नेले त्यही व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नेहरुको जीविकोपार्जनका लागि किन अवस्था परितर्वन गर्न सकेन ।
हिजो यही देशको मुहार फेर्छु । जनतामा भएको रोग, भोक र शोकको अन्त्य गर्छु भनेर १० वर्ष बन्दुकको नालमा ज्यान थापेर हिँड्नेले सत्ताको वरपर पुगेको १७ वर्षमा धनयुद्धको वर्ष गर्दै आफैं परिवर्तन भएको देखेर त मट्याङ्ग्रो झिसमिसेमै धनयुद्धमा नलाग्ने प्रण गर्दै जनयुद्धमा होमिएकी छोरीलाई स्मरण गरिरहेको छ ।
मट्याङ्ग्राहरुलाई धनयुद्धको लोभमा अब पनि भोक र प्यासमा अझै कति बस्नुपर्ने हो । धनयुद्धमा लागेका मालिकहरुलाई अझै महान मालिक बनाउन फेरि कति सपुतहरुले ज्यान गुमाउनुपर्ने हो ?
तर, देखिएन परिवर्तनका संकेतहरु, हजारौंले सपुतले ज्यान फालेर गए पनि मुलुक बन्ने देखिएन । धनयुद्धले सबैको आँखा टालिसकेको छ । कान नसुन्ने बनाइसकेको छ । बोली नफुट्ने बनाइदिएको छ । त्यसैले त मट्याङ्ग्राले सधैँ स्मरण गरिहन्थ्यो, ‘सिंह’दरबार पस्ने र खरानी धस्नेबाट आशा नगर्नू’ ।
विचारमाथि विचार गर्नेहरु, विचार बदलिरहेका छन्, सत्ता र शक्तिका लागि छेपारोेले जस्तै रङ फेरिरहेका छन् । मट्याङ्ग्राको जय होस् ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १५:२७