काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले थप उपचारका लागि भारत नजाने बताएका छन्। बुधबार काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारीसहित उनकी आमा हरिकला गम्भीर घाइते भएका छन् ।
उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकहरूले अवस्था गम्भीर रहेको भन्दै भारत लैजान सिफारिस गरेका छन् । तर सांसद भण्डारीले भारत नजाने अडान लिएका छन् ।
कीर्तिपुर अस्पतालका डाक्टर भन्छन्– दुवैलाई गम्भीर जलन छ, मुम्बई लैजानेबारे सोच्दैछौँ ।
स्वाथ्यमन्त्री आएर पनि सम्झाउनुभयो । तर उहाँले म मरे पनि मेरै देशमा मर्छु भन्नुभयो । डकुमेन्टेसन पूरा भइसक्यो । अब जबर्जस्ती गरेर भए पनि बाहिर लैजानुहुन्छ होला , भण्डारीका स्वकीय सचिव भुवन भुसालले भने ।
आफूलाई भेट्न आएका नेताहरूलाई भण्डारीले आफूलाई स्वदेशकै उपचार पद्धतिमा विश्वास रहेको बताउने गरेका छन् । मलाई देशबाहिर नलैजाऊ । मलाइ यहीँको डाक्टर र उपचारमा विश्वास छ, भण्डारीले भनिरहेका छन् ।