काठमाडौं– बालाजुमा गत सोमबार भएको भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालयमा कार्यरत डीआईजी मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले बताएका छन् ।
समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजाल सहित ५ जना छन् । समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको डीआईजी पोखरेलले जानकारी दिए ।
माछापोखरीमा प्रहरी र मजदुरबिच भएको झडपमा प्रहरीको दुई वटा गाडीमा आगजनी भएको थियो। प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।
फागुन १ मा भएको प्रदर्शनमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।
डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको आरोपमा उनलाई छानबिनका लागि बालाजु वृतबाट हटाइएको छ ।