काठमाडौं– दक्षिण कोरिया सिउलस्थित नेपाली दूतावासले ‘श्रमिक सुरक्षा तथा सचेतना’ सम्बन्धी आठ हप्ते अनलाइन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । दूतावासले गैरआवासीय नेपाली संघ, कोरियाको सहयोगमा १९ फेबु्रअरी देखि ९ अप्रिल २०२३ सम्म जुममार्फत ‘भर्चुअल’ माध्यमबाट श्रमिक सुरक्षा तथा सचेतनासम्बन्धी अनलाइन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
इपिएसमार्फत कोरियामा रोजगारीका लागि गएका श्रमिकहरुको रोजगारीका विषयहरुमा उठेका विविध जिज्ञासा र समस्य समाधान गर्नु अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य रहेको दूतावासले उल्लेख गरेको छ । दक्षिण कोरियामा रोजगारीमा रहेका सबै नेपालीलाई कार्यक्रममा सक्रिय सहभागिता जनाई श्रमिक सुरक्षा तथा सचेतनासम्बन्धी ज्ञानको अभिवृद्धि गर्न दूतावासले आग्रह गरेको छ ।
दूतावासले सञ्चालन गर्ने आठ हप्ते अभिमुखीकरण कार्यक्रममा अनलाइन श्रम स्वीकृति र फेइम्स्, रेमिट्यान्स व्यवस्थापन तथा वित्तीय साक्षरता, तनाव व्यवस्थापन रमनको दुःखबाट मुक्तिको उपाय, व्यवसायजन्य सुरक्षा, कोरियाको श्रम कानुन, कार्य संस्कृति र इपिएस प्रणाली, वैदेशिक रोजगार बोर्डबाट प्रवाह गरिने कल्याणकारी सेवाहरु, घर फिर्ती उद्यमशीलता र सरकारी नीतिगत व्यवस्था, राहदानी नवीकरण, कन्सुलर सेवालगायत नियोगबाट प्रवाह गरिने सेवाहरुको बारेमा जानकारी दिइने बताइएको छ
प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९ १३:३६