
धनगढी – सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरिया भीडब्लु प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । धनगढीको जुगेडामा बुधबार पहिलो खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले हसनपुर युवा क्लवलाई ५–० ले हराएको छ । सुदुरपश्चिमको जितमा विदेश खेलाडी ग्लोरीले ह्याट्रिकसहित चार गोल गरे । यस्तै भरत टमट्टाले एक गोल गरे ।
यस्तै दोस्रो खेलमा अत्तरियाले फारवेष्ट पशुपति युवा क्लबलाई २–० ले हरायो । अत्तरियाका लागि जीवन चौधरीले दुई गोल गरे ।
मनकामना युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत बिहिबार पुरुषतर्फका दुई खेल हुनेछन् । पहिलो खेलमा मनकामना युवा क्लब बी र स्टार सिटी तथा दोस्रो खेलमा मनकामना युवा क्लब ’ए’ र मदरल्याण्ड युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा महिलातर्फका खेल भने माघ १७ गतेदेखि सुरु हुने आयोजक मनकामना युवा क्लबले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १६ र महिलातर्फ ७ टीमले सहभागीता जनाएका छन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार तथा उपविजेताले ४१ हजार पाउने छन् । त्यस्तै महिलातर्फको विजेताले २० हजार तथा उपविजेताले १० हजार पाउने छन् ।