काठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको बुधबार सम्पन्न खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले संकटा क्लबलाई पराजित गर्दै ३ अंक जोड्न सफल भयो ।
आत्मघाती गोलबाट अग्रता लिएको मनाङले एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा अन्य २ गोल अन्जन विष्ट र निशान लिम्बुको गोलको मद्दतले साविक उपविजेता संकटा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए ।
त्यसको एक मिनेट नबित्दै ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले डिबक्स नजिकैबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३–० को सहज जित दिलाए । खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए ।
जितपछि मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले लिगको आठ खेलपछि टिमले उत्कृष्ट खेलेको बताए । ‘८ खेलपछि राम्रो खेल भयो । यहि मैदानमा ट्रेनिङ गर्न पाए राम्रो हुन्छ । अहिले सम्मकै सबैभन्दा राम्रो खेल्यौं,’ प्रजापतिले भने, ‘खेलाडी प्रेणित भएका छन् । यसलाई निरन्तरता दिनु पर्छ । यो सिजन निकै कठिन छ । अर्को खेल पनि कठिन हुन्छ ।’
संकटाका प्रशिक्षक विजय महर्जनले पहिलो हाफको अन्तिम समयमा दुई गोल खाएपछि खेलमा फर्किन कठिन भएको बताए । संकटाविरुद्ध गोल गरेपछि हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका महान खेलाडी कोबी ब्रायन्टलाई सम्झदै मनाङका खेलाडी । जितसँगै लिगमा मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङ लिगमा अपराजित रहने एक्लो टिम हो ।
संकटालाई हराएसँगै मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ । संकटा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
बिहीबार लिगका २ खेल हुनेछन् । पहिलो खेलमा फ्रेण्ड्स र च्यासल तथा दोस्रो खेलमा न्यूरोड टिम एनआरटी र ब्रिगेड व्बाईजबीच प्रतिस्पर्धा हुनेछ ।