काठमाडौं– नेपाली फिल्म ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरअनुसार फिल्ममा राजनीतिको नाममा हुने भुमिमाथि कब्जा गर्ने ‘भूमाफिया’को कथामा तयार भएको अनुमान गर्न सकिन्छ । साथै, फिल्ममा श्रीमान÷श्रीमतीको नोकझोक भिन्न पार्टीमा रहँदा ठुलैरूप लिएको दृश्यलाई समेत ट्रेलरमा देखाइएको छ ।
रामबाबु गुरुङद्वारा निर्देशित यस फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सनविक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ, सन्दिप क्षेत्रीलगायतका चर्चित हास्य कलाकारको अभिनय रहेको छ । सितारामकै निर्माण रहेको फिल्म ‘सेन्टी भाइरस’को प्रदर्शनबाट आउने आम्दानीको एक हिस्सा रंगशाला निर्माणमा लगाइने बताइएको छ ।
सिताराम भएर रंगशाला र धुर्मुस भएर फिल्म बनाएको उनको भनाइ छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको यो फिल्म आउँदो ९ फागुनबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यस फिल्मलाई सितारामले मात्र नभएर दर्शकले समेत महत्वका साथ लिएका छन् ।