काठमाडौं– महाशिवरात्रिमा पशुपति क्षेत्र विकास कोषको निमन्त्रणामा पशुपति क्षेत्र आएका जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीलाई बिदाइ गरिएको छ ।
शङ्कराचार्य निश्चलानन्द सरस्वती आज बिहान काठमाडौँबाट बनारस गएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । उनले तीन दिनसम्म पशुपतिक्षेत्रमा प्रवचन गरेको थियो । यसैगरी पशुपतिनाथको दर्शनमा आएका साधुसन्तको पनि आज बिदाइ गरिँदै छ । अहिले पशुपति क्षेत्रमा बिदाइको तयारी भइरहेको छ ।
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँशीसम्म गुठी संस्थान, पशुपति क्षेत्र विकास कोषलगायत संस्थाले आवास, भोजन र धुनी बाल्ने व्यवस्था गर्ने प्राचीनकालदेखिको परम्परा छ । त्यस अनुसार आज फागुन कृष्ण औँशीका दिन बिदाइ गर्न लागिएको उनले बताए । साधु, सन्तलाई पदवी अनुसार दक्षिणा दिई बिदाइ गर्ने तयारी भएको जनाइएको छ ।
बिदाइपछि पशुपति क्षेत्रमा बस्न चाहने साधु, सन्तलाई संस्थान, कोषलगायत संस्थाले आवास, भोजन र धुनीको व्यवस्था गर्दैनन् । आजदेखि साधु सन्तले आफ्नै हिसाबले व्यवस्था गर्नुपर्ने जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १२:०६