काठमाडौं– विदेशमा चलचित्रसम्बन्धी गतिविधि गर्दा घुम्न पनि पाइने र व्यापार पनि हुने धेरैको भनाइ पाइन्छ । त्यही अनुसार पछिल्लो समय अधिकांश नेपाली चलचित्र विदेशमा छायाङ्कन हुन थालेको छ । तर, निर्माता÷निर्देशकहरू नै भन्छन्, ‘नेपालमै थुप्रै भर्जिन लोकेशन छ ।’
यस्तै निर्मातामध्ये एक हुन्, नवराज श्रेष्ठ । ‘विदेशमा छायाङ्कन गर्दैमा चलचित्रले राम्रो व्यापार गर्ने पनि होइन र विदेशमा छायाङ्कन गरिएको भनिएका सबै चलचित्रले राम्रो व्यापार गर्न पनि सकिरहेका छैनन्’ उनको बुझाइ छ ।
एकसाथ दुई चलचित्र निर्माणको तयारीमा रहेका युवा ब्यवसायी तथा निर्माता श्रेष्ठ भन्छन्, ‘नेपालमा थुप्रै सुन्दर भर्जिन लोकेशनहरू छन् । अहिलेसम्म कसैले चलचित्र छायाङ्कन गर्न पुगेका छैनन् । त्यस्ता स्थानको खोजी गरि आफ्नो चलचित्रमा विल्कुलै नयाँ दृश्य कैद गर्न सक्नुपर्छ । जसले चलचित्र हेर्ने दर्शकलाई मनोरञ्जनसँगै मन आनन्दित तुल्याउन सकोस् ।’
व्यवसायिक र दर्शकलाई हलसम्म तान्न चलचित्रमा के हुनुपर्छ ? श्रेष्ठ भन्छन्, ‘राम्रो र सशक्त स्क्रिप्ट, प्रस्तुति, लोकेशन, निर्देशन, गीत÷संगीत, कलाकार, कलाकारको अभिनय आदि । एउटा राम्रो चलचित्रका लागि राम्रो स्क्रिप्ट र सशक्त ढंगले प्रस्तुति गर्नुपर्ने भन्ने नै अधिकांश दर्शकको भनाइ रहेको पाइन्छ । यो कुरा सही जस्तो लाग्छ ।’
ंआफ्नो ब्यापार, ब्यवसायीमा स्थापित बनिसकेका श्रेष्ठ बिभिन्न संघ, संस्थाबाट समेत सम्मानित भइसकेका छन् । चलचित्र निर्माण यात्रा भने उनको यो पहिलो हो । उनले निर्माण गर्ने भनिएको दुई चलचित्रमध्ये ऐतिहासिक बिषयवस्तुमा आधारित ‘अशोका’ र समसामयिक कथावस्तुमा ‘श्रृंगार’ रहेको छ ।
छायाङ्कन पुर्वको प्राबिधिकपक्ष सम्पूर्ण तयारी पूरा भएपनि केही कलाकार छनोटमा समस्या आएका कारण फ्लोरमा जान ढिला भएको उनले बताए ।