काठमाडौं– क्रिकेटर सन्दिप लामिछाने सर्वौच्च अदालत जाने भएका छन् । उच्च अदालत पाटनको आदेशविरुद्ध लामिछाने सर्वोच्च अदालत जाने भएका हुन्। लामिछाने माथि उच्च अदालतले विदेश यात्रामा लगाएको प्रतिबन्ध सार्थै धरौटी रकमको विषयमा पुनरावलोकनका लागि लामिछानेले सर्वोच्च जान लागेको हो । उनले निवेदन दर्ता गर्ने तयारी गरेको अधिवक्ता सरोज कृष्ण घिमिरेले जानकारी दिए ।
घिमिरेले भने, ‘ भोलि हामी सर्वोच्च जाने छौँ।’ अदालतले लगाएको प्रतिबन्धका कारण लामिछानेले यूएईमा हुने आगामी शृङ्खलामा सहभागी हुन नपाउने अवस्ता रहेको छ । अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो ।
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका लामिछानेलाई गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको हो। नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट थुनामै बस्नुपर्ने गरी भएको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगेका थिए ।
अदालतले दिएको आदेशमा सन्दीपलाई नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ । त्यसै गरी मुद्दाको सम्बन्धमा सामाजिक सञ्जाल लगायतमा लेख्न प्रतिबन्ध लगाइएको छ । उपत्यका छाड्नुपरेमा काठमाडौँ प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त दिइएको छ भने सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ । सर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत पुनः पक्राउ गरी थुनामा राख् नसक्ने अदालतको आदेशमा उल्लेख छ ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १२:४५