काठमाडौं (प्रस)– मलेसिया सरकारले सरकारी तवरबाटै आप्रवासी कामदार भित्र्याउने संकेत देखाएको छ । निजी कम्पनी वा एजेण्टहरुमार्फत कामदार लिँदा चर्को भर्ना शुल्कलगायतका विषयमा प्रश्न उठेपछि सरकारले सिधै कामदार लिने प्रक्रिया अघि बढाउने तयारी थालेको छ ।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत शुक्रबार गरेको एक सम्बोधनमा विदेशी कामदार भित्र्याउन कुनै एजेण्ट नराखी सीधै लिने प्रक्रिया स्थापित गर्नुपर्ने बताएको त्यहाँको प्रतिष्ठित सरकारी सञ्चारमाध्यम बर्नमाले उल्लेख गरेको छ । प्रधानमन्त्री इब्राहिमको उक्त भनाइपछि मानव संशाधनमन्त्री शिवकुमारले पनि रोजगारीका लागि मलेसिया आउने विदेशी कामदार शोषणमा नपरुन् भन्ने उद्देश्यले काम भइरहेको बताएका छन् । यसका लागि मलेसिया सरकारले विभिन्न उपायहरुको खोजी गरिहेको बर्नमाले जनाएको छ ।
आप्रवासी कामदारको अभाव झेलिरहेको मलेसियाले सरकारी तवरबाटै कामदार भर्ना प्रक्रिया सहज बनाउन गृहमन्त्री सैफुद्धिन नासुसन इस्माइलले विभिन्न मुलुकको भ्रमण गरेको जनाइएको छ । गृहमन्त्री इस्माइलले केही समय अघिमात्रै कामदार पठाउने मुलुक नेपाल, इण्डोनेसिया र बंगलादेशको भ्रमण गरेका थिए । मानव संशाधनमन्त्री शिवकुमारले पनि बीचमा एजेण्ट हुँदा श्रमिकको लागत खर्च महँगो परिरहेको र यसको अन्य विकल्प खोजी गरिएको बताउँदै दुई देशको सरकारी तवरबाट नै कामदार लिने तयारीमा रहेको बताएको समाचारमा जनाइएको छ ।
मलेसियाको रोजगारदाताहरुको संगठन फेडेरेसन अफ मलेसियन म्यानुफ्याक्चरर्स (एफएमएम) ले विदेशी कामदार लिने प्रक्रियामा स्रोत मुलुकमा एजेण्टहरुको संलग्नतालाई हटाउने प्रधानमन्त्री इब्राहिमको भनाइलाई स्वागत गरेको बर्नमाले उल्लेख गरेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९ १४:१३