काठमाडौं– चाइना व्यापारी पुरुषोत्तम शंकर मैनालीलाई विप्लव माओवादी भन्दै अज्ञात समूहद्वारा ज्यान मार्ने धम्की दिएको छ । सर्लाही, पिप्राभित्ता–९ का स्थायी बासिन्दा मैनालीसँग उक्त समूहबाट २० लाख रूपैयाँ आर्थिक सहयोग गर्नुपर्ने अन्यथा भौतिक हमला गर्नेसम्मको चेतावनी दिएको उनले बताए ।
चाइना व्यापारी भएकाले मैनाली सधैँ चाइना आतेजाते गर्दै आएका छन् । उनी म्यापइन्टरप्रेन्युयर्स, कमलपोखरीको बिजनेस डेभेलोपर म्यानेजरसमेत हुन् । केही वर्षअघि उक्त समूहले विप्लवको नाम लिएर उनीबाट दुईपटक केही रकम पनि लिएका थिए । तर, दुई वर्षयता भने उनलाई गालीगलौज गर्दै अत्यन्त बढी रकम मागेको भन्दै मैनालीले आफूले दिनै नसक्ने बताएका छन् ।
चाइना कारोबारी गर्नेले सहयोग गर्नुपर्ने भन्दै उनलाई बारम्बार टेलिफोनबाट भौतिक आक्रमणको चेतावनी दिएपछि ज्यान जोगाउनकै लागि प्रायः चीन र भारतमा बस्दै आएको उनी बताउँछन् । उनले आफूले यसअघि पनि रकम दिएको तर अहिले भने आफूसँग रकम नभएको भन्दै आए पनि उनीहरूले कुनै सुनुवाई नगरेको भन्दै उनले भने, ‘ज्यान जोगाउनकै लागि भए पनि आफू अहिले बढीजसो चाइना र भारतमा बस्दै आएको छु ।’
त्यसो त उनी नेपाल विद्यार्थी संघका सदस्य हुन् । उनी अमृत साइन्स कलेजका विद्यार्थी हुँदादेखि नै उनलाई माओवादीले धम्की दिने र त्रास देखाउँदै आएका थिए । उनी नेविसंघ भएपछि त्यसबेला पनि उनीमाथि तत्कालीन माओवादीका कार्यकर्ताहरूबाट पटक–पटक आक्रमण भएको थियो ।
त्यसबेला नेविसंघ र अखिल क्रान्तिकारीको वैचारिक संघर्षको नाममा आक्रमण हुने गरेको तर अहिले भने व्यापारी भएकाले उनीमाथि विप्लव माओवादीको आँखा लागेको हुन सक्ने उनको अनुमान छ ।
माओवादी शान्ति वार्तामा आइसकेपछि सबै कटुताहरू बिर्सनुपर्नेमा अहिले पनि उनीमाथि आक्रमणको शिलशिला रोकिएको छैन । वैचारिक संघर्षदेखि सुरु भएको कटुता व्यापारी हुँदासम्म पनि विप्लव माओवादीले आफूलाई पिछा गर्न नछाडेको उनी बताउँछन् । शान्ति प्रक्रियाको केही समय शान्त भए पनि विप्लव माओवादी जन्मेपछि गत दुई वर्षदेखि भने उनीमाथि आक्रमक रूपमा सो समूहले लाखौँ रूपैयाँ चन्दा सहयोग माग्न थालेको उनले बताए ।
विप्लव माओवादीले सहयोग नपाएकै झोँकमा एनसेल टावरमाथि र केही नेताहरूको निवासमा बम विष्फोट गराएको समाचार आएपछि उनमा अहिले चिन्ता र त्रास देखिएको छ । मानसिक तनाव कम गर्नकै लागि भए पनि अहिले मैनाली शिक्षण पेसामा संलग्न छन् । उनी भन्छन्, ‘दिनभर तनावमा बस्नुभन्दा विद्यार्थीहरूसँग रहँदा आफ्नो पीडा बिर्सने हुनाले अहिले स्वयंसेवकका रूपमा किन्डर गार्डेनका बच्चाहरूलाई पढाउने गर्छु ।’