एजेन्सी– जापानले यौनसम्पर्कका लागि सहमतिको उमेर १३ बाट १६ वर्ष बनाउने योजना बनाएको छ । यसअघि कायम रहेको १३ वर्षको उमेर हदलाई बढाएर १६ वर्ष बनाउन लागिएको हो ।
देशमा यौन अपराधमा रोक लगाउनका लागि नियममा परिवर्तन गर्न लागिएको जापान टाईम्ले जनाएको छ । सन् २०१९ मा उमेरकै कारण धेरै दोषीहरूले सफाइ पाएपछि त्यसको व्यापक विरोध भएको थियो । नयाँ प्रस्तावमा बलात्कारको परिभाषालाई विस्तार गर्ने र नाबालिगको मामिलामा थप कडा नियम ल्याउने बताइएको छ ।
त्यस्तै, बलात्कारको मामिला उजुरी गर्ने समय सीमा १० वर्षदेखि बढाएर १५ वर्ष बनाइने भएको छ । हाल विकसित देशमध्ये सहमति यौन सम्बन्ध कायम गर्ने उमेर जापानमा सबैभन्दा कम छ । जर्मनी र इटालीमा यो उमेर हद १४ वर्ष रहेको छ भने ग्रीस र फ्रान्समा यो उमेर १५ वर्ष रहेको छ । अमेरिकामा र बेलायतमा यो उमेर हद १६ वर्ष रहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ ११:३३