धनगढी–कञ्चनपुर पुनर्बास नगरपालिका–१० विकासवस्तीका रामबहादुर रानाले एक साता लगाएर उखु काटे । ढिलो भएका कारण खेतमै उखु सुक्न लागेपछि उनी उखु बिक्रीबारे कुरा गर्न सुगर मिल गए । तर, सुगर मिलले उनलाई उखु काट्नु भनेनन् ।
‘एकातर्फ खेतमा उखु सुकिरहेको थियो, अर्कोतिर गहुँ लगाउने हतारो थियो किसान’ रामबहादुरले भने, ‘अनि मैले उखु काटे । तर, करिब दुई सातासम्म पनि काटेको उखु खेत मै रह्यो ।’
अर्का उखु किसान जगतु रानाले पनि काटेको उखु खेतमै झारपातले छोपेर राखेका छन् । उनका अनुसार केही किसानले विचौलियाको माध्यमबाट उखु बिक्री गरिरहेका छन् । विचौलियामार्फत बिक्री गर्दा किसानले सही मूल्य पाउँदैनन् । ‘कतिपय किसानले विचौलियामार्फत पनि उखु बिक्री गरेका छन् । तर, मैले कम मूल्यमा बिक्री गर्न चाहिन । परिणामस्वरूप मेरोे उखु खेतमै थन्किएको छ’ उनले भने । उनले ‘धान, गहुँ’सजिलै बजारमा लगेर बेच्न सकिने भए पनि उखु सुगर मिलमै बिक्री गर्नुको विकल्प नभएको बताए ।
सुगर मिलले उखु किसानलाई प्रत्येक ट्याक्टर ट्रलीका लागि तौल पर्चा दिने गरेका छन् । स्थानीय किसानहरूले आवश्यकता अनुसारको तौल पर्चा नपाएकाले अझैसम्म पनि उखु काट्न नसकेको बताए । विकासवस्तीका मायाराम रानाले पनि यस्तै अवस्था भोग्नु परेको बताए । उनले १४ कठ्ठामा उखु लगाएका थिए । उद्योगले तौल पर्चा नदिएपछि उनी बिचौलिया कहाँ पुगे । ‘मैले बिचौलियालाई तीन सय रूपैया प्रतिक्विन्टलका दरले उखु बेचे’ उनले भने । उनले किसानसँग आवश्यक तौल पुर्जी नभए पनि विचौलियासँग जति भने पनि तौलपुर्जा उपलब्ध हुने गरेको दाबी गरे । उखु किसान जगन्नाथ रानाले बिचौलियाका कारण किसानहरूले घाटा बेहोर्नु परिरहेको बताए । उनले भने, ‘हामीलाई आवश्यक परेको बेला उखुको तौलपुर्जी पाइँदैन । तर, विचौलियाले जतिवेला पनि तौलपुर्जी दिन्छन् ।’
कञ्चनपुरका उखु किसानका अनुसार बिचौलियामार्फत उखु बिक्री गर्दा नोक्सानी बेहोर्नु परिराखेको छ । जगन्नाथले भने, ‘विचौलियाले हामीसँग तीन सय रूपैयाँमा खरिद गर्छन् र बढि मूल्यमा मिललाई बिक्री गर्दछन् ।’
पुनर्बास नगरपालिका विकासवस्तीका सयौँ किसानले पुनर्वास वडा नम्बर १० पकरियामा उखुखेती गरिरहेका छन् । पकरिया क्षेत्रमा तीन सय ५० बिघामा उखु खेति भइरहेको छ । कञ्चानपुरमा १० हजार बढि बिघा जमिनमा उखु खेती हुने गरेको बताइन्छ ।
भागेश्वर सुगर एण्ड केमिकल इण्डष्ट्रीजका प्रशासन अधिकृत डम्बर खड्काले विचौलियालाई उखुको तौलपुर्जी नदिएको बताए । उनले भने, ‘धेरै किसानले उखुखेती गरिरहेकोले लगाउने गरेकाले हामीले केही बढि तौलपुर्जी वितरण गरेका होउँला, तर बिचौलियाको हातमा एउटा पनि पर्चा दिएका छैनौँ ।’
उनले सुगर मिलको क्षमता दैनिक १५ देखि २० क्विन्टल उखु पेल्ने रहेको र किसानले त्यो क्षमताभन्दा बढि उखु काट्दा समस्या हुने गरेको बताए । उनले भने, ‘हामीले सात स्थानमा उखु खरिद केन्द्र तोकेका छौँ, सबै केन्द्रका लागि बराबर संख्यामा तौलपुर्जी वितरण गर्ने गरेका छौँ, तर कहिलेकाही किसानले बढि उखु काटेपछि खरिदमा केही समस्या हुने गरेको छ ।’