राष्ट्रपति चयनको विषयले मुलुकको राजनीतिक माहोल तातिरहेका बेला राष्ट्रिय क्रिकेट टोलीले देशवासीलाई खुसी दिलाएको छ । राजधानीमा सम्पन्न आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा ‘क्लिनस्वीप’ गर्दै क्रिकेट टोलीले मुलुकको सान बढाएको छ ।त्रिकोणात्मक सिरिजअन्तर्गतका चारवटै खेलमा लगातार जित हात पार्दै नेपालले इतिहास रचेको हो ।
यसका हकदार सम्पूर्ण खेलाडीहरु बधाई एवं धन्यवादका पात्र बनेका छन् ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले सिरिजको अन्तिम खेल मंगलबार स्कटल्याण्डसँग खेलेको थियो । उक्त खेलमा कप्तान रोहित पौडेल र पूर्वकप्तान सन्दीप लामिछानेको सानदार प्रदर्शनमा लिग विजेता स्कटल्याण्डलाई पराजित गरेको छ ।
]उक्त जितसँगै नेपालले स्कटल्याण्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजको उपाधि हात पारेको छ । नेपालले स्कटल्याण्ड र नामिबियाविरुद्धका दुई/दुई गरी चार खेलमा लगातार जित पारेर इतिहास रचेको छ ।
स्कटल्याण्डलाई पराजित गरेको नेपालले आफ्नो एकदिवसीय क्रिकेटको इतिहासमा पहिलोपटक लगातार चार खेल जितेको हो । नेपाल लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा सतप्रतिशत नतिजा निकाल्ने पहिलो टोलीसमेत बनेको छ । यस्तै नेपाल विश्वकप लिग–२ को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ ।
यो सफलताले नेपाली क्रिकेटको आगामी यात्रामा सकारात्मक आशा जगाएको छ । नेपाल अर्को साता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि जाँदै छ । उक्त सिरिजमा युएई र दुई÷दुई खेल खेल्ने तालिका रहेको छ । पहिलो खेलमा आगामी सोमबार पपुवान्युगिनीको सामना गर्नेछ । लिगका अन्तिम चार खेल नेपालमै २५ फागुनदेखि सुरु हुनेछ । त्यसमा पनि नेपाल, युएई र पपुवान्युगिनीबीच खेल हुनेछ ।
विश्वकप लिग–२ मा नेपाल २६ अंकका साथ छैटौं स्थानमा छ । २८ खेलमा १२ मा जित र १४ मा हारसहित नेपाल उक्त स्थानमा रहेको हो । बाँकी रहेको आठ खेलमध्ये कम्तीमा छ खेल जित हात पार्न सके नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ । स्कटल्याण्ड ३६ खेलमा २४ जित र १० हारका साथ ५० अंक जोडेर लिग च्याम्पियन बनिसकेको छ ।
युएई जाने टोलीमा लामिछाने जाने लगभग अनिश्चित छ । बलात्कार अभियोगमा जेल परेका उनलाई अदालतले देशबाहिर जान नपाउने गरी धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । त्यही कारण उनी युएई जान पाउने छैनन् । यद्यपि, उनले विदेशमा क्रिकेट खेल्नबाट रोक लगाउने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका छन् । सर्वोच्चले आगामी १२ गते त्यसको पेसी तोकेको छ ।
यदि सर्वोच्चले लामिछानेलाई विदेशमा खेल्न पाउने आदेश दिएमा युएईमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा क्रिकेटप्रेमीहरुले गरेका छन् । यद्यपि, मुद्दाको किनारा नलाग्दै लामिछानेलाई राष्ट्रिय टिममा समेटेकोप्रति नेपाल क्रिकेट संघ (क्यान)को सर्वत्र आलोचना भइरहेको छ ।
घरेलु मैदानमा प्राप्त ऐतिहासिक सफलतालाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा गर्न सकिन्छ । किनभने, यसपटक गरेको उत्कृष्ट प्रदर्शनले नेपाली टिम लयमा रहेको संकेत गरेको छ । यसले निरन्तरता पाओस्, जसका लागि सबैले क्रिकेट खेलाडीहरुलाई हौसला दिऔं । यसमा क्यान र सरकारले अझ बढी भूमिका खेल्न जरुरी छ । पुनः नेपाली टोलीलाई बधाई ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९ १५:५२