राम कुमार चौधरी
बाँके/मालपोत कार्यालय बाँके पुरानो भवनबाट सुबिधायुक्त नयाँ भवनमा सरेकोछ तर कर्मचारीहरुबाट प्रदान गरिने सेवासुबिधा भने पुरानै शैलीको छ ।
पैंशा नतिरि, दलालको सहयोग नलिई सहजै काम हुने स्थिती मालपोतमा छैन । कर्मचारीहरुको ढिलासुस्तिका कारण काम नभएको सेवाग्राही लोक बहादुर ददेलले बताए । उनी खजुरा–२ बाट जग्गा सम्बन्धि सेवा लिनको लागि मालपोत कार्यालयमा साउन ९ गते देखि धाईरहेका छन्, तर पनि उनको काम भईरहेको छैन । सबै काम अनलाईनबाट गर्नुपर्ने, तर अनलाईनबाट सेवा लिन समय लाग्ने भएका कारण आफ्नो काम नभएको उनको भनाई छ ।
सेवाग्राही यज्ञराज सापकोटा अनलाइन सेवाले तथ्याँक सुरक्षित हुने भएतापनि अनलाईनका कारण भईरहेको ढिलाईले झन सास्ति भएको बताउँछन् । एक जना सेवाग्राहीको काम अनलाईनबाट गर्दा करिब एक घण्टा लाग्ने गरेको अनुभब सेवाग्राहीहरुले गर्न थालेका छन् ।
सेवालाई प्रभावकारी बनाउनका लागि टोकन र अनलाइनको ब्यवस्था भएतापनि सेवाग्राहीहरुले सहज र सरल रुपमा सेवा पाईरहेका छैनन् । छिटो, छरितो रुपमा सेवा प्राप्त गर्ने आशा राखेका सेवाग्राहीहरुको आशा आशामैं सिमित बनेको छ ।
यद्यपि साँघुरो भवनबाट नयाँ फराकिलो भवनमा सर्दा सेवा प्रबाह पहिलेको तुलनामा प्रभावकारी भएको भनाई मालपोतको छ । साउन १ गते देखि मात्रै अनलाइन प्रणाली लागु गरिएको छ । अनलााइन प्रणाली लागु भएकोले सेवामा केही ढिला भएको गुनासो सेवाग्राहीबाट आउनु स्वाभबिक नै भएको मालपोत अधिकृत ऋषिराम के.सी. बताउँछन् । उनका अनुसार, अनलाइन सेवामा सबै त्थयाँक इन्ट्रि गर्नुपर्ने भएकाले समय लाग्ने गरेकोछ । सेवाग्राहीहरुको चाप बढि भएतापनि मालपोतमा पाँच वटा मात्रै कम्प्युटर र जनशतिm पनि न्यून भएकाले सेवाग्राहीहरुको काम छरितो भईरहेको छैन ।
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७४ ०६:२४