काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत काठमाडौंमा भएको सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही २ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री दाहाललाई बिहीबार प्रधानमन्त्री निवासमा भेटेका थिए । सो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले खेलाडीको पुरस्कार रकम दिने बताएका हुन् ।
भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग टू खेल्न युएई जाने खेलाडीलाई शुभकामना दिएका छन् । ‘तपाईंहरुले एउटा रेकर्ड बनाउनु भएको छ, त्यसका लागि म तपाईंहरुलाई बधाई दिन्छु,’ प्रचण्डले भने, ‘चारमा चार खेल जितेर नेपाली जनताको शीर ठाडो बनाउन एउटा भूमिका खेल्नु भएको छ ।’ गत हप्ता त्रिवि क्रिकेट मैदानमा भएको नामिबिया र स्कटल्याण्डविरुद्धको चार खेलको शृंखला नेपालले क्लिनस्वीप गरेको थियो ।
प्रचण्डले आफूले सरकारमा रहँदा पनि र नरहँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिने गरेको बताए । अहिले खेलकुदको शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर देशको प्रतिष्ठा र कुटनीतिक सम्बन्ध बिस्तारमा पनि योगदान रहने भन्दै प्रचण्डले सरकारले खेलकुदलाई उच्च महत्व दिने बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९ १६:१०