नेपालगंज – अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको बयानब्बे वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उपचारका क्रममा उनको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो । केही वर्षयता अस्वस्थ रहनुभएका सेनानी गुप्ताले बुधबार साँझ बान्ता गरेपछि अस्पताल लगिएको थियो । नेपालगञ्जको पत्रकारितामा छुट्टै पहिचान बनाउनुभएका सेनानी गुप्ताले ‘किरण साप्ताहिक’को सम्पादक रहेर लामो समय पत्रकारिता गर्नुभएको थियो । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घले एक दशकअघि सेनानीको उपाधि दिएको थियो । अग्रज पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनप्रति नेपाल पत्रकार महासङ्घ केन्द्रिय समिति र बाँके शाखाले दुःख प्रकट गरेका छन् । शुक्रबार राप्ती नदीको चिदनिया घाटमा उहाँको दाहसंस्कार गरिने परिवारले जनाएको छ ।