काठमाडौं– वैदेशिक रोजगार विभागमा जो कोही निर्वाध प्रवेश गर्न नपाउने भएको छ । अब विभागमा काम परेर जाने सम्बन्धित व्यक्तिहरूले आफ्नो परिचय खुल्ने कागजात बोकेर गएमात्रै प्रवेश पाइनेछ ।
विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै परिचय खुल्ने कागजातको आधारमा मात्रै सेवाग्राहीलाई प्रवेश दिइने जानकारी दिएको छ । विभागले सेवाग्राहीको नाममा विगत केही दिनदेखि कार्यालय प्रवेश गरी नियमित कार्यसम्पादनमा असर पार्ने, कानुन, विधि र प्रक्रियाविपरीत नारा जुलुस गर्नेलगायतका गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै असम्बन्धित व्यक्तिको प्रवेशलाई कडाइ गरिएको उल्लेख गरेको छ । पीडितका नामबाट विभिन्न व्यक्ति तथा समूह विभागमा प्रवेश गरी अम¥यादित भाषाको प्रयोग गर्नुका साथै कार्यालयमा आतंक मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्नेलगायतका कार्यहरु गरेको विभागले उल्लेख गरेको छ । यस्ता गतिविधिलाई निस्तेज पार्न र असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न कडाइ गर्नुपरेको विभागले जनाएको छ ।
विभागले अम¥यादित क्रियाकलाप अन्त्य गरी विधि र प्रक्रियाबमोजिम काम गर्ने वातावरण निर्माणमा सहयोग पु¥याउन र विभागमा काम लिएर आउने सेवाग्राहीहरुले आफ्नो परिचयपत्र खुल्ने कागजातसहित आइदिन पनि आग्रह गरेको छ । साथै, कार्यालयको काम कारबाहीसँग कुनै गुनासो भएमा कानुनी प्रक्रियाबमोजिम आउन सबैमा अनुरोध गरेको छ । यसअघि पनि विभागले विभिन्न व्यक्ति र समूह कार्यालयमा प्रवेश गरी हुलहुज्जत गर्ने र कर्मचारीमाथि दुव्र्यवहार गर्ने गरेको भन्दै विज्ञप्ति जारी गरेको थियो ।
विभिन्न व्यक्ति तथा समूहले वैदेशिक रोजगारपीडितलाई सहयोग गर्ने नाममा अनधिकृत प्रवेश गर्दै अवाञ्छित गतिविधि गर्नुका साथै कार्यसम्पादनमासमेत प्रभावित पार्ने गरेका कारण उक्त निर्णय लिनुपरेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । विभागको यस निर्णयबाट सेवाग्राहीलाई पर्नसक्ने असरप्रति सजग रहेको भन्दै उनले असम्बन्धित व्यक्तिहरुको प्रवेशलाई निरुत्साहित गर्दै कार्य सम्पादनलाई सहज बनाउन सरोकारवालाहरुले सहयोगी भूमिका खेल्नुपर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १३:२९