काठमाडौं- मेलम्चीको पानी वितरणका क्रममा पाइपमा आएको चुहावटका कारण काठमाडौं उपत्यकाका धेरै सडकमा क्षति पुगेको छ ।
खासगरी उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य शहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको हो ।
लैनचौर-महाराजगञ्ज, महाराजगञ्ज-बालाजु, त्रिपुरेश्वर-कलंकी, ताहचल-छाउनी, नयाँ सडक, कालीमाटी-कलंकी सडकका विभिन्न खण्ड, लगनखेल, कुपण्डोल, कुमारीपाटी, बल्खु, कालीमाटीलगायतका स्थानमा खाल्डाखुल्डी देखिएका छन ।
खाल्डाखुल्डी देखिएपछि टालिहाल्ने गरिएको भएपनि त्यस आसपासमा नयाँनयाँ चुहावट देखिरहेको देख्न सकिन्छ । पानी चुहावटका कारण सडकमा क्षति पुगेका ठाउँमा समन्वयमा मर्मत पनि भइरहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ ।
कुनै-कुनै भइसकेको र कतै भइरहेको डिभिजनका सूचना अधिकारी सुमित केसीले बताए । उनका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पहिले पुनःस्थापना खाल्डाखुल्डी पुर्ने काम गरेपछि त्यहाँको सडक मर्मत गरिने गरिएको छ ।
लिमिटेड र कतैकतै आयोजना कार्यान्वयन निर्देशनालयले पुनःस्थापना गर्दा राम्रो काम नभएर दबिएकाले पुनः काम गर्न लगाइएको केसीले जानकारी दिए । ती निकायले तत्काल पुनःस्थापना गरेमा छिट्टै सडक बनाइने गरिएको छ ।
सडकमा पानी जमेर कमजोर भइरहेको र यसले सडकमा पछिसम्म बिग्रन सक्ने सूचना अधिकारी केसीले बताए । ललितपुर र भक्तपुरका तुलनामा काठमाडौंका सडकमा बढी क्षति पाइएको छ ।
डिभिजनले हेरिरहेको सडकमध्ये ९० प्रतिशत स्थानमा खाल्डाखुल्डी टालिसकिएको सूचना अधिकारी केसीले बताए । उनका अनुसार गत वर्षहरूभन्दा यस वर्ष वर्षा कम खाल्डाखुल्डी हुने गरी अहिलेदेखि नै मर्मत अघि बढाइएको हो ।
केसीले भने, ‘देखेसम्म काम भइरहेको छ, तर पानी र चुहावटले कति खाल्डा हुन्छ भन्ने थाहा हुँदैन ।’ जोरपाटी-सुन्दरीजल सडकमा धेरै पाइप लाइनमा चुहावटको समस्या आइरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
आयोजनाले बनाउना साथ लिमिटेडले सडक खन्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए । चुहावट आज एक ठाउँमा देखिएर बनाउँदा अर्को दिन अर्को ठाउँमा समस्या देखिइरहेको जोशीको भनाइ छ ।
जोशीले भने, ‘कतै सडकमै पाइपमा त कतै घरघरसम्म जाने पाइपमा समस्या देखिरहेको छ ।’ अहिले हरेक सडकमा नै चुहावटको समस्या रहेको छ । नख्खुबाट भैँसेपाटी सडक, सातदोबाटो-गोदावरी सडक, चावहिल(साँखु र भक्तपुर गरी निर्माणाधीन वा भर्खर कालोपत्र भएका सडक क्षति पुगिरहेको हो ।
सडकमा पूर्वाधार रहेका निकायका बीचमा समन्वयको कमी हुँदा उपत्यकाका सडकमा खाल्डाखुल्डी भएको भन्दै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै समन्वयका लागि काम सुरु गरेका छन ।
नियमित समन्वयका लागि संयन्त्र बनाएको छ भने नियमित अनुगमन र बैठक भइरहेका छन ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १६:२८