जनकपुर – आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच साझेदारी सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा ‘आइएमई पे’का तर्फबाट सिइिओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहालले संयुक्त हस्ताक्षर गरेका थिए । सम्झौतापछि आइएमई डिजिटल सोलुसन लिमिटेडले जनस्तरसम्म वित्तिय पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरू जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ । कार्यक्रममा विश्वका विकसित शहरहरू क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रूपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रूपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए ।