काठमाडौं - राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावलीप्रकाशित भएको छ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृत कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति पदमा वर्णानुक्रम अनुसार रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङ दुईजनाको अन्तिम नामावली प्रकाशन गरेको हो ।
पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुन् ।
निर्वाचन अधिकृत कार्यालयले फागुन १६ गते मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएकोमा सो समयभित्र कुनै पनि उम्मेदवारको नाम फिर्ता नलिएको जानकारी दिएको छ ।
तनहुँ, ब्यास नगरपालिका २, अमरापुरीका पौडेल ७८ वर्ष रहेको विवरण आयोगको सूचनामा उल्लेख छ । यसैगरी, उहाँको बुवा दुर्गाप्रसाद पौडेल, आमा ऋषि माया पौडेल र पत्नी सबिता पौडेल हुन् ।
इलामको इलाम नगरपालिका ७, सुन्तलाबारीका नेम्वाङ ७० वर्ष उमेरको हुन् । उनको बुवा राम बहादुर नेम्वाङ, आमा अपिन्द्र कुमारी नेम्वाङ र श्रीमती विशाल नुमा नेम्वाङ हुन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ०७:५९