सुनसरी - सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकप प्रतियोगिताको २३औँ संस्करणमा एन्फा मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । मोरङले बङ्गलादेशको केबिपिएस क्लबलाई ३–१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
धरान–१६ स्थित रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनलमा मोरङ र बङ्गलादेशको केबिपिएस दुवै पक्षबाट गोल हुन नसकेपछि टाइब्रेकरमार्फत जित हारको निर्णय भएको हो । मोरङको जितमा गोलकिपर प्रमिजय गच्छदार नायक बने ।
उनले बङ्गलादेशका तीन खेलाडीलाई गोल गर्नबाट बचाए । खेलको म्यान अफ दी म्याच पनि गच्छेदार नै भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।बङ्गलादेशका लागि खोका बाबुले मात्र गोल गर्न सफल भए ।
मोरङका लागि सञ्जय धिमाल, सान याक्खा र मनिष धिमाल गोल गर्न सफल भए । मोरङले बिहीबार एभिनियर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ । एभिनियर बागमती युवा क्लब सर्लाहीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
बुधबार युके एफसी भारत र केएफटिसी झापाबीच सेमिफाइलन खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा तीन विदेशीसहित आठ टोली सहभागी छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ ०८:३१