काठमाडौं — चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विश्वक्रिकेटका महारथी वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले पनि खेल्ने भएका छन् ।
विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रूपमा अनुबन्ध गरेको जनाएको छ । ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्ने खेलको तय हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्ने गर्छन् ।
क्रिकेटमा युनिभर्स बोसका नामले परिचित गेल तीनै फर्म्याटको क्रिकेटमा कीर्तिमानधारी खेलाडी हुन् । गेल आईसीसीको टेष्ट, एकदिवसीय र टी–ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान हुन् । गेलले वेष्ट इण्डिजबाट १ सय ३ टेष्ट, ३ सय १ एकदिवसीय र ५८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका छन् । वेष्ट इण्डिजले सन् २०१६ को टी–ट्वान्टी विश्वकपको उपाधि जित्दा गेल मुख्य खेलाडी रहेका थिए । ४० वर्षीय गेलले टी–ट्वान्टीमा १३ अर्धशतक २ शतकसहित कुल १६ सय २७ रन बनाएका छन् । गेलले टेष्टमा ७ हजार २ सय १५ रन बनाएका छन् । एकदिवसीयमा उनले १० हजार ४ सय ८० रन बनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६ १०:११