काठमाडौं– नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी वैदेशिक रोजगार बचतपत्र–२०८४ ‘क’ बिक्री खुला गरेको छ । राष्ट्र बैंकले पाँच वर्ष अवधिका लागि ५० करोड रुपैयाँको उक्त बचतपत्र बिक्री खुला गरेको हो ।
राष्ट्र बैंकले आगामी चैत ३ गतेसम्म बिक्री खुला रहने उक्त बचतपत्रको ब्याजदर १२.५० प्रतिशत तोकेको छ । बचतपत्रको ब्याज छ–छ महिनामा भुक्तानी हुने राष्ट्र बैंकको भनाइ छ । खरिदकर्ता वा इच्छाइएको व्यक्तिमार्फत सो ब्याज लिन सकिने जानकारी दिइएको छ । यो बचतपत्र विशुद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मात्र नभएको राष्ट्र बैंकले जानकारी दिएको छ । बैंकका अनुसार वैदेशिक रोजगारीबाट फर्केको छ महिना अवधि नपुगेका नेपाली नागरिक र गैरआवासीय नेपालीले पनि आफू वा आफ्ना परिवारका सदस्यको नाममा उक्त बचतपत्र खरिद गरी लाभ लिन सक्ने छन् ।
राष्ट्र बैंकले बिक्री खुला गरेको बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले भाग गर्दा निशेष हुने रकमसम्म आवेदन गर्न सकिने जनाइएको छ । बचतपत्रका लागि आवेदन दिने व्यक्तिले आफ्नो राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्नेछ ।
यदि परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्रको स्वप्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १५:४७