काठमाडौं– वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मोरङ कानेपोखरी–३ घर भएका गणेशबहादुर लावतीलाई पक्राउ गरेको हो ।
४४ वर्षीय लावतीलाई चावहिलबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ । उनले वैदेशिक रोजगारका लागि ‘फ्रि भिसा, फ्रि टिकट’मा युएईको दुबईमा क्लिनर कामका लागि पठाइदिने भन्दै केही व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमानको मस्कट पु¥याएको पाइएको छ । दुबई भनेर ओमान पु¥याइएका पीडितलाई घरायसी काममा लगाएर तीन हजार ओमानी रियलमा बिक्री गरेको खुल्न आएको ब्युरोले उल्लेख गरेको छ ।
पीडितले आफूलाई काम गर्ने घरमा बन्धक बनाएर शारीरिक तथा मानसिक यातना दिएको भन्दै नेपालमा रहेका आफन्तलाई खबर गरेका थिए । पीडितको उद्धारका लागि आफन्तले लावतीको निर्देशन अनुसार विभिन्न खातामा साढे दुई लाख रुपैयाँ जम्मा गराएर गत माघ २४ गते नेपाल फर्काइएको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ ।
नेपाल फर्किएपछि ब्युरोमा आफू मानव बेचबिखनमा परेको भन्दै पीडितले प्रहरी जाहेरी दिएका थिए । पीडितको जाहेरीपछि प्रहरीले लावतीलाई सोमबार पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट सात दिनको म्याद लिएको जानकारी दिइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९ १५:५३