काठमाडौं– साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो उपन्यास कृति ‘स्माइल ड्रिम’ लोकार्पण भएको छ । तीन दशकभन्दा बढी समयदेखि साहित्य क्षेत्रमा समर्पित रहेका ‘अमर’कोे उपन्यास ‘स्माइल ड्रिम’लाई विहीबार राजधानीमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । बरिष्ठ सहित्यकार भुपाल राईको प्रमुख आतिथ्यतामा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, संगीतकार सन्तोष श्रेष्ठलगायतले उपन्यास ‘स्माइल ड्रिम’ लोकर्पण गरेका थिए । कार्यक्रमक्रमा ‘स्माइल ड्रिम’को अडियो समेत विमोचन गरिएको थियो । अडियो उद्घोषण राधिका घिमिरेले गरेकी छन् । ओएस नेपालको आयोजनामा भएको लोकार्पण कार्यक्रममा अतिथिहरूले सरल भाषामा लेखिएको उपन्यास पठनीय रहेको बताएका थिए ।
कार्यक्रमको सहजीकरण पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यासलाई राईजिङ क्रियटिभ मिडिया प्रा.लि. भक्तपुरले प्रकाशन गरेको हो । ‘अमर’का यसअघि अनुष्का, मिस्ड कल, अदभूत जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । त्यस्तै उनका चित्रकारिता, कविता संग्रह, गीतसंग्रह, नेवारी गीत संग्रह, हाइकु, गीति एल्बमजस्ता २३ कृति सार्वजनिक भइसकेका छन् ।