काठमाडौं– केही समयअघि दक्षिण भारतीय सुपरस्टार रजनीकान्त ‘म्यान भर्सेस वाइल्ड’मा जाने देखिने कुराले चर्चा पाएको थियो । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत उक्त कार्यक्रममा गइसकेका छन् । तर, रजनीकान्त देखिने कुराले निकै चर्चा पाएको थिया । तैपनि पछि ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्सले यसमा सफाइ दिएका थिए ।
हाल आएर फेरि रजनीकान्तको आलोचना सुरु भएको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार रजनीकान्तलाई केहीले पक्राउ गर्नुपर्ने माग गरेका छन् । रजनीकान्त र प्रस्तोता बियर ग्रिल्सले कार्यक्रमको सुटिङ बन्दिपुर टाइगर रिजर्भ पार्कमा पनि गरेका थिए । संरक्षण क्षेत्रमा सुटिङ गरेको र त्यहाँ भएका जनावरप्रति चिन्ता व्यक्त गर्दै रजनीकान्तविरूद्ध आन्दोलन सुरु भएको भारतीय मिडियाले जनाएका छन् ।
सुटिङमा भएका मान्छेहरूका कारण जनावरमा खतरा हुने र सुख्खा मौसम भएकाले मान्छेका गतिविधिका कारण जंगलमा आगो लाग्न सक्नेलगायत चासो व्यक्त गर्दै अभियन्ताहरूले रजनीकान्तको विरोध गरेका छन् । उनीहरूले समस्या भइहालेमा समाधान गर्न धेरै मुश्किल हुने बताएका छन् । यसको साटो बरु वर्षायाममा सुटिङ गर्न सकिने उनीहरूको सुझाव छ ।