काठमाडौं (प्रस)– साउदी अरेबियास्थित नेपाली दूतावासले त्यहाँ कार्यरत हुरुब लागेका, इकामा नभएका वा जरिवानामा परेका नेपाली कामदारहरुको सूची संकलन गर्ने भएको छ । दूतावासले बिहीबार एक सूचना जारी गर्दै उल्लिखित अवस्थाका कामदारहरुको सूची संकलन कार्य भइरहेको भन्दै यथाशीघ्र आफ्नो विवरण अपडेट गराउन आग्रह गरेको छ ।
दूतावासले इकामा (बस्ने) म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको तर कार्यरत कम्पनी वा मालिकले इकामा नवीकरण नगरी समस्यामा परेका नेपाली कामदारलाई तत्कालै दूतावासको वेबसाइटमा आफ्नो विवरण समावेश गर्न अनुरोध गरेको छ । त्यस्तै रोजगारीमा आएको तीन महिना कटिसक्दा पनि इकामा नबनाइएका, हुरूब (कम्पनी छाडेका) लागेका, कार्यरत कम्पनी वा मालिकले जरिवाना लगाएका अथवा कुनै मुद्दामा जरिवाना लागेका नेपाली कामदारले पनि यथाशीघ्र दूतावासको वेबसाइटमा आफ्नो विवरण अपडेट गराउनुपर्नेछ ।
उल्लिखित समस्यामा परेका कामदारबाहेक अरुले विवरण भर्नु नपर्ने दूतावासले प्रस्ट पारेको छ । रोजगारीका लागि साउदी पुगेका थुप्रै नेपालीहरु विविध कारणले अलपत्र पर्ने, इकामा नपाउने, हुरुब लाग्ने र जरिवानामा पर्ने समस्या बढेका कारण उनीहरुको विवरण संकलन गर्न लागिएको दूतावासले जनाएको । साथै, नेपाल सरकारले त्यस्ता कामदारहरुको दूतावासमार्फत सम्पूर्ण प्रक्रिया पूरा गरी स्वदेश फर्काउने कार्य गरिरहेको छ । चालु आर्थिक बर्षको सात महिनामा हुरुब लागेका र इकामा नभएका झण्डै एक हजार ५०० कामदारले साउदीबाट एक्जिट भिसा पाएको दूतावासले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १५:२१