काठमाडौं - चौथो खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न भएको छ ।ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको चौथो खिजिदेम्बा अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको हाे।
प्रतियोगिताको पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई र महिलातर्फ जुम्लाकी सुनमाया बुढा प्रथम भएका छन् ।प्रतियोगितामा सुमनले ३ घण्टा ४९ मिनेटमा खिजी फलाँटेदेखि पिके हिमालसम्म ४२ किलोमिटर दूरी पूरा गरेका हुन् ।
त्यस्तै, सुनमायाले ४ घण्टा ४१ मिनेटमा सो दूरी पार गरेको परिषदले जानकारी दिएको हो । पुरुषतर्फ दोस्रो भोजपुरका तीर्थ तामाङ, तेस्रा सोलुखुम्बुका अर्जुन कुलुङ राई र चौथो बैतडीका मोहनदेव जोशी भए भने महिलातर्फ राष्ट्रिय धाविका जुम्लाकी मन्जु रावत दोस्रो, खोटाङकी प्रिया राई तेस्रो र सिन्धुपाल्चोककी नितु तामाङ चौथो भएका छन् ।
स्थानीय धावकमा ओखलढुंगाका प्रथम स्थानमा किर्ति राई, दोस्रो स्थानमा रवीन्द्र तामाङ र तेस्रो स्थानमा देवराज सुनुवार भए । त्यस्तै, महिलातर्फ स्थानीय पदमकुमारी सुनुवारले ५ घण्टा ३३ मिनेटमा सो दूरी गरेकी थिइन् ।
विजेताहरूले राष्ट्रिय विधातर्फ क्रमशः ७०, ६०, ५० र २५ हजार नगद प्राप्त गरे भने स्थानीय विधातर्फ क्रमशः २०, १५ र १० हजार नगद प्राप्त गरेकाे आयाेजकले जनाएका छन् । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले उनीहरुलाई पुरस्कृत गरे । म्याराथनमा जम्मा ५८ प्रतिस्पर्धी सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९ १७:४४