ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित याम्फुदिनका ममलाल राईको एउटा याक तीन हप्ताअघि भालुको सिकार बन्यो । चिण्डे चोक खर्कमा चरनकै क्रममा उक्त याक भालुको सिकार बनेको हो । याम्फुदिनकै बारुले भन्ने खर्कमा श्रीकुमार गुरुङको समेत दुई वटा गाई भालुकै आक्रमणमा परी मरे । यता मिक्वाखोला गाउँपालिकास्थित पापुङका स्थानीय पानदोर्ची शेर्पाका अनुसार सिम्बोकमा पनि दुई वटा चौँरी वन्यजन्तुको आक्रमणमा मरे । यी दुई क्षेत्रमा मात्रै नभई याक, चौँरी पाल्ने गरिएका कालिखोला, घुन्सा, ओलाङचुङ्गोला, तोक्पेगोलालगायतका ठाउँमा समेत यस्तै घटना बारम्बार भइरहन्छन् ।
हिमाली क्षेत्रमा पालिने पशु चौपाय सधैँजसो वन्यजन्तुको सिकार बन्ने गरेपछि पशुपालक मारमा पर्दै आएका छन् । बर्सेनि प्रत्येक गोठका एउटा पशुचौपाया वन्यजन्तुको सिकार बन्ने गरेको स्थानीयले बताए । ‘कहिले दिउँसो चरनका समयमा त कहिले राति बसेकै ठाउँमा आएर जंगली जनावर भालु, ब्वाँसो, हिउँचितुवालगायतका वन्यजन्तुले आक्रमण गर्छन्, बर्सेनि एक÷दुई वटा पशु चौपाया जंगली जनावरकै सिकार हुने हुँदा समस्या हुने गरेको छ,’ याम्फुदिनका पशुपालक खड्क गुरुङले भने । जंगली जनावर मार्न पनि नहुने र यिनीबाट जोगाउने उपाय पनि नहुने हुँदा घाटा बेहोर्न बाध्य हुनुपर्ने उनको भनाइ छ । गुरुङका अनुसार रुँघेर पनि साध्य हुँदैन, कुनबेला आएर मार्छ पत्तो पनि हुन्न ।
बर्खाको समयमा गोठ उच्च क्षेत्रमा हुने हुँदा सोहीबेला याक, चौँरी हिउँचितुवाको आक्रमणमा पर्ने गर्छन् भने हिउँदका बेला तल्लो क्षेत्रमा पाइने भालु र ब्वाँसो अर्थात जंगली कुकुरको आक्रमणमा पर्छन् । हिउँदभर गोठ तल्लो क्षेत्रमा राखिन्छ । मिक्वाखोला गाउँपालिका–५ पापुङका पशुपालक मिलनदोर्जी शेर्पाका अनुसार ब्वाँसोले एउटा मात्रै चौँरी अर्थात याक मार्न पायो भने गोठका अन्य याक, चौँरीलाई समेत पालैपालो आक्रमण गर्छ । रासस
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६ ११:०२