काठमाडौं– सबै विभाजित माओवादीहरु एक हुने समय आएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले समयले सबै माओवादीहरुलाई एक ठाउँमा बनाउन थालेको बताएका हुन् ।
‘मैले पटक पटक, चाहे जनयुद्ध दिवसका दिन होस् । चाहे सहिद दिवसको दिनको कुरा होस् । जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको सन्दर्भमा गोरखामा गएर अपिल गरेँ । अब समय आएको छ, सबै माओवादीहरु एक ठाउँमा केन्द्रीत हुन जरुरी छ’ प्रचण्डले भने, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रुपमा अगाडि आयो । शान्ति प्रक्रियामा आएपछि विभिन्न भंगालाहरुको रुपमा विभाजित भयो । अब समय बग्दै जाँदा ती सबै भंगालाहरु मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो ।’ प्रचण्डले भने ।
प्रचण्डले सबै विभाजित माओवादी नेताहरुले पाएको शिक्षालाई आफ्नो सम्पत्ति सम्झेर एकता गर्नुपर्ने बताउर्दै माओवादी शक्तिशाली भए मात्रै परिवर्तनका उपलब्धीलाई रक्षा गर्न सकिने उनको भनाई थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १४:२५