दोहा-स्याङ्जा सहयोग समाज कतारले आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ । शुक्रवार एक कार्यक्रमकाबीच बाल–वृद्धाश्रमको सहयोगार्थ विविध सांस्कृतिक कार्यक्रम–२०२३ आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो ।
समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्वमा भएको कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष टुकराज अर्यालको प्रमुख अतिथ्यता रहेको थियो । स्याङ्जा सहयोग समाज बहराइनका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार लक्ष्मण श्रेष्ठ, सुरेश केसी तथा एनआरएनए आइसिसीका विभिन्न ओहोदाका पदाधिकारीहरू, दोहामा स्थापित जिल्ला संस्था, प्रदेश समन्वय परिषद्, साहित्यिक, साङ्गीतिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अमृत लिम्बु, गोविन्द गुरुङ, रमिला मोक्तान, निरु श्रेष्ठ, सरिता श्रेष्ठ, सविना मगर, रञ्जना गुरुङ, शिला गुरुङ, रितु गुरुङ, रेजिना गुरुङ, तिलमाया गुरुङ, सुनिता शेर्पा, देव घिमिरे, शतिष थापा, टिना राई, सविना खतिवडा, रेश्मी सेन्चुरी, बाबु कौसल, शिवराम ढकाल लगायतका कलाकारले आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए ।
नेपाली पञ्चे बाजा बजाएर शुरु गरिएको कार्यक्रममा वार्षिकोत्सवको केक समेत काटिएको थियो । नौमती बाजामा लाइभ दोहोरी प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो । वार्षिकोत्सवको अवसरमा संस्थाभित्र रहेर उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तित्वहरू, स्याङ्जा जिल्लामा जन्मेर कतारका विभिन्न सङ्घसंस्थामा प्रतिनिधित्व गरेका व्यक्तित्वहरू, पत्रकार, कलाकार लगायत विभिन्न व्यक्ति हरूलाई सम्मान गरिएको थियो । घनश्याम जैशीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अर्यालले हलमा उपस्थित भएका सबैलाई धन्यवाद दिँदै स्याङ्जा सहयोग समाजका टिमलाई समेत धन्यवाद दिए । जिल्लामा भएका हरेक सामाजिक कार्यमा समाजले हातेमालो गर्दै अगाडि बढी रहेको बताउँदै आउने दिनहरूमा समाज प्रति अझै नयाँ नयाँ परोपकारी योजनाहरू ल्याउनु पर्ने कुरामा जोड दिए । समाजका सचिव अर्जुन पौडेलले सहजिकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति परियारले संस्था स्थापना गर्ने संस्थापक देखी कार्यक्रम सफल बनाउन सहयोग पुराउने सबैमा धन्यवाद ज्ञापन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९ १०:१४