काठमाडौं (प्रस)– प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मञ्च नेपालले यस वर्षको होली अपांग पुनःस्थापना केन्द्र नेपालका बालबालिकासँग मनाएको छ । मञ्चका अध्यक्ष जनक रावलको सक्रियतामा कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु अपांग पुनःस्थापना केन्द्र गोकर्णेश्वर पुगेर बालबालिकासँग होली खेल्नुका साथै ५१ हजार रुपैयाँ आर्थिक सहयोगसमेत गरेका छन् ।
मञ्चले अपांग बालबालिका खाना खुवाउनुका साथै टिसर्टसमेत वितरण गरेको थियो । अपांग बालबालिकाको भरणपोषणमा थोरैमात्र भए पनि टेवा पुगोस् भन्ने हेतुले ५१ हजार राशीको चेक संस्थाका अध्यक्ष उदयबहादुर लिम्बूलाई हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष रावलले बताए ।
आगामी दिनमा पनि विभिन्न अवसर पारेर यस्तै अपांग, असहाय, अनाथ तथा वृद्धवृद्धाहरुको संरक्षणका लागि मञ्चले सक्दो सहयोग गर्ने रावलले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ १०:२९