निकै कठिन थियो त्यो बेला कागती बाजेलाई । मट्याङ्ग्रो तीन छक्क परेर कुरा गर्दथ्यो । छाड्देऊ बाजे छाड्देऊ । दिन आएपछि भगवान्ले पनि राम्रैसँग दिन्छन् चिन्ता नगर । मट्याङ्ग्रो सम्झाउने प्रयास गर्दथे । तर बाजे भक्कानिादै मट्याङ्ग्रा भन्थे, ‘खै मट्याङ्ग्रा के होला र, मैले मेरो लागि भनेर त गरेको थिएन सवैको खुसीका लागि गरेको थिए, अहिले बोल्नसमेत बोल्दैनन् ।’
‘बोलुन् पनि किन त बाजे’ मट्याङ्ग्रो भन्थ्यो । कैदीसँग बोलेर आफू पनि कैदी भई्एला भन्ने गाउँलेलाई निकै नै डर थियो । त्यही डरले पनि कैदीबाजेसँग दोहोरो संवाद गर्ने कमै हुन्थे । आफ्नै भन्नेहरु पनि कैदी छुटेर आएपछि बोल्नै छाडेका थिए । छड्के–छड्के पर्दै हिँड्थे ।
उसैको स्वर बसेका बाजेका कुरो कसैले बुझ्न पनि सकस थियो । ठूलो स्वर आउँदैनथ्यो शासकहरुले छाडेका सुराकीहरुले निगरानी गरिरहेका थिए । त्यही भएर होला बाजेसँग बोल्न गाउँलेले आँट गरेका थिएनन् । जेलबाट कैदीका रुपमा गाउँ फर्केका बाजेलाई आफ्नै जन्मभूमि पनि बिरानोजस्तै भएको थियो । खान बस्न पनि समस्या पर्न थाल्यो । खेती भएर पो के गर्नु उब्जनी हुन कठिन भएपछि । मेलापात वा पर्ममा आउने छिमेकी नभएपछि गरिखान पनि त गाह्रै हुँदो रहेछ ।
बाजेलाई पर्नुसम्म पीर प¥यो । सहयोगी हातहरु नभएपछि बाँच्नका लागि त केही न केही गर्नुप¥यो । कैदी विचरालाई कसले भन्ने कसले सहयोग गर्ने ? कसले आँट गर्ने सहयोग गर्ने ? मर्नु भन्दा बौलाउनु निको भन्छन् त्यस्तै भयो बाजेलाई । बाजे एक्लो भए । तै पनि हार मानेनन् । आफ्नो बाँझो खेतलाई उर्वर बनाउँछ यहीबाट कमाउँछु भन्ने सोचे र बाँझो बारीमा कागजी खेती गरे ।
छिमेकी, आफन्त र गाउँलेको सहयोग नपाएपनि कागजीका बोट रोप्दै बसे कैदी बाजे । बाँझो बारीमा लगाएका कागजीका बोटहरु सुनजस्तै गरी बारीका डिलमा पहेंलै देखिन थालेपछि बाजेको भाग्य त त्यहीबेला नै चम्किन थालिगो नि । कैदी बाजे डोकोमा पहेलै कागजी बेकेर हरेक दिन दमौली सहर झर्न थाले । बाजेको मिहेनतले गाउँलेहरुले जिब्रो टोक्न थाले । ओहो ! हेर त कैदी बाहुनले त गर्नु गरे बाबै । बाँझो बारीमा कागजीका बोट रोपेर कति राम्रा बनाएका हुन् । हरेक दिन बाजे आफ्ना बारीमा फलेका कागती बिक्री गर्न थाले । बाजेको रुप फेरिन थाल्यो ।
कैदी बाजेबाट परिवर्तन हुँदै तनहुँमा कागती बाजेका रुपमा परिचित हुन थाले । यिनै बाजेले प्रजातन्त्रको लडाइँका लागि संघर्ष गरे तर यिनका खासै उपलब्धिमूलक दिन आएन । हुन त प्रजातन्त्र प्राप्ति पछि २०४८ सालमा भएको निर्वाचनमा निकै नै मत ल्याए विजयी भएका । ५२ सालमा उनका सभापति गिर्जाले बहुमत प्राप्त गरेको दलको नेतृत्व गरेर प्रधानमन्त्री भए पनि मध्यावधि गर्न भ्याए । त्यसमा पनि बाजेले जिते । ५६ सालमा पनि बाजेले निर्वाचनमा जिते । तर, जितेअनुसार काम किन गरेनन् ? तीन–तीन पटक जितेका कागजी बाजेले बाँझो खेतमा कागजी फलाएको बिर्सिएछन् क्यार । झेलमा भोगेको र जनताको दुःख पनि बिर्सेनन् क्यार देश र जनताका लागि फिटिक्कै केही गर्न सकेनन् ।
बरु गोल्छे सार्कीको थप्पड खाए । परिवारवादमा रमाउन थालेका कागजी बाजेलाई मट्याङ्ग्राहरुले जति नै गुन लगाए पनि रुमल्लिए । प्रधानमन्त्री बन्ने सपना बोकेर घोक्रो सुकाएर हिँडेका तिनै कागजी बाजेलाई उनकै सभापति शेरबहादुरले १७ पटक लडाइदिए । तर, प्रधानमन्त्री बन्न सफल भएनन् । १७ पटक प्रधानमन्त्रीको उम्मेदवार हुँदा पनि हार नमानेका कागजी बाजेलाई कुनै पनि हालतमा पद चाहिएको थियो थियो त्यो पनि सम्मानित पद । प्रधानमन्त्रीमा १७ पटकसम्म आफ्नै पार्टीका नेता शेरबहादुरबाट लोप्पा खाएका कागजी बाजेलाई यतिखेर भने भगवान्ले पनि साथ थिएको जस्तो देखिन्छ ।
बाजे यतिखेर राष्ट्रपति बन्नका लागि पार्टीका नाइकेहरुको घरदैलो गर्न थालेका छन् । अब बाजेका भाग्यले साथ दिएजस्तो पनि देखिएको छ । बाजेको भाग्यमा प्रचण्ड र लिङ्देनहरुले साथ दिँदै छन् । एउटा पूरै राजतन्त्र चाहिन्छ भन्ने अर्को पूरै गणतन्त्र चाहिन्छ भन्नेका भीडमा बसेर बाजेको पुपुरोमा राष्ट्रपति बन्न लेख्ने तयारी भईरहेको छ । बाजे अहिले त्यही पुपुरो बाल्नका लागि घरदैलो पो गर्न थालेका छन् । १७ पटकसम्म धोका खाएका बाजेलाई अव त धोका खान्न भन्नेमा ढुक्क छ । तर मट्याङ्ग्रालाई अझै पनि डर छ । निष्ठा, आस्था, विचार र सिद्धान्दलाई पद र पैसामा बिक्री गर्नेहरुको भीडमा बाजे कतै एक्लै पर्ने त होइनन् । हुन त दिन आईसकेको छ । एक घण्टामा नै सत्ता परिवर्तन गर्न बाहिर खेलाडीहरुका वीचमा बाजेलाई चौविस गते राती नै पो ८ रेक्टरको भुकम्पको झट्का लगाईदिने हुन् कि भन्ने पनि शंका छ । किनकी बाजेलाई राष्ट्रपति बनाउने अभियानमा शेरबहादुर प्रचण्डसँगै छन् । दुवै सत्ता र शक्तिका लागि जे पनि गर्न तयार हुन्छन् ।
राष्ट्र र जनतालाई धोका दिनु प¥यो भने एक घण्टामा धोका दिन सक्ने अजीव किसिमको राजनीतिक प्राणीमा पर्दछन् देउवा र दाहाल । विश्वासघाती खोज्नु परे यी दुवैलाई सँगै लिएर हिँड्दा पनि हुन्छ । यी दुवै प्राणी राष्ट्रका लागि सधैँ घातकका रुपमा नै परिचित गराउँदै छ । सायद कागती बाजेलाई यी दुई प्राणीले धोका दिने छैनन । कागजी बाजेले अव पक्कै पनि राष्ट्रपति भएभने तनहुँका जनता वा सम्धी खोज्दै नजालान् ।
आशा गरौं । कैदी बाजेबाट कागजी बाजेमा रुपान्तरण भएका पौडेल बाजेलाई दुई छट्टुहरुले सहजरुपमा नै भाग्यको रेखा कोरिदिने छन् । अन्तिम अवस्थामा धोका दिने छैनन् । १७ पटकको हारलाई सार्थक बनाउँदै राष्ट्रप्रमुख बन्ने छन् । कागजी बाजेलाई मट्याङ्ग्राका शुभकामना ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ १०:४२