मुलुकले आज नयाँ राष्ट्रपति पाउँदै छ । तेस्रो राष्ट्रपति चयनका लागि आज हुने निर्वाचनबाट नयाँ राष्ट्रपति चुनिने भएको हो । राष्ट्रपति चयनका लागि फागुन १३ मा उम्मेदवारी दर्ता भएको थियो, जसमा दुई जनाको उम्मेदवारी पर्यो । आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङ राष्ट्रपतिका उम्मेदवार छन् ।
आजको मतदानबाट पौडेल र नेम्बाङमध्ये एक जना मुलुकको तेस्रो राष्ट्रपति बन्ने छन् ।देशको राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपति रहन्छ । संविधानतः कार्यकारी भूमिकामा छैन । आलंकारिक पद भए पनि राष्ट्रपतिमा दलहरुको मोह बढेको देखिन्छ । यसको कारण वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका केही विवादास्पद कदम हुन् ।
लगातार दुई कार्यकाल राष्ट्रपति बन्ने अवसर पाएकी भण्डारी पटक–पटक विवादमा तानिरहिन् । आफ्नो पूर्वपार्टी एमालेको सरकार हुँदा जति सरकारका लागि सहज थिइन् उनी अन्य दलको सरकारप्रति कठोर देखिइन् । विभिन्न विधेयक प्रमाणीकरण गर्ने सवालमा उनको भूमिका विवादास्पद बनेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गर्दा रोक्ने प्रयाससमेत उनले गरिनन् ।
तर, कांग्रेस नेतृत्वको सरकारले प्रमाणीकरणका लागि पेस गरेको नागरिकतासम्बन्धी विधेयक तथा अन्य विधेयकलाई समेत रोकेर उनले दलीय पक्षधरता देखाएकी हुन् । संविधानको रक्षकको भूमिकामा रहेको राष्ट्रपतिले निष्पक्ष भूमिका निभाउन नसक्नु दुर्भाग्यपूर्ण हो । भण्डारीको तुलनामा यादव कम विवादित बनेका थिए ।राष्ट्रपति चयनमा दलहरुबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
यसपटकका उम्मेदवारद्वय दुवैजना पूर्वसभामुख हुन् । राजनीतिकरुपमा अनुभवी र खारिएका व्यक्तित्व हुन् दुवै । यस हिसाबले आजको निर्वाचनबाट दुईमध्ये जो राष्ट्रपतिमा चुनिए पनि मुलुकले अनुभवी राष्ट्रपति पाउने निश्चित भएको छ । यद्यपि, राष्ट्रपति चयनका लागि यसबीचमा भएका राजनीतिक हर्कतहरु भने निकै असुहाउँदो थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति चुनावकै लागि गठबन्धन परिवर्तन गरे । विदेशी शक्ति राष्ट्रले समेत यस प्रक्रियामा चासो देखाए । आफ्ना दूतहरूलाई खटाएर स्वार्थअनुकूलका व्यक्तिलाई राष्ट्रपति बनाउन दबाब दिने कामसमेत भएको देखियो ।
राष्ट्रपति पद आलंकारिक भए पनि राष्ट्रप्रमुखको हैसियत र गरिमा महŒवपूर्ण छ । यसलाई जोगाउन पनि राष्ट्रपति निर्वाचनलाई निष्पक्ष बनाउन जरुरी छ । दलहरुको आफ्नो जेसुकै स्वार्थ भए पनि राष्ट्रपतिलाई निष्पक्ष भूमिकामा रहन दिनुपर्छ । अब निर्वाचित हुने राष्ट्रपतिले पनि आफ्नो निष्पक्ष भूमिकालाई बिर्सनु हुँदैन । राष्ट्रपतिका दुवै उम्मेदवारलाई शुभकामना !!
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ ०८:४८