काठमाडौं — शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको शनिबारको पहिलो खेलमा सरस्वती क्लबमाथि थ्री स्टार क्लबले फराकिलो जित निकालेको छ । त्यस्तै दोस्रो खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै २२ अंकसहित मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।
मछिन्द्रको जितमा विशाल राई ‘बी’ र रञ्जित धिमालले एक एक गोल गरे । एपीएफका रमेश दंगालले एक गोल गरे । खेलमा सुरुवाती अग्रता उल्ट्याएर मछिन्द्रले जित निकालको हो । रोमान्चक बनेको खेलको ४३ औं मिनेटमा रमेशको गोलबाट एपीएफले अग्रता बनाएको थियो । राजिब लोप्चनलाई पिटर सेगुनले लडाएपछि पाएको फ्रिकिकमा रमेशले हेड गोल गरेका थिए । नवीन लामाको फ्रिकिकलाई रमेशले पोस्टको दिशा दिएका थिए । दोस्रो हाफमा भने मच्छिन्द्र खेलमा फर्कियो । खेलको ४८ औं मिनेटमा विशालले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । रञ्जित धिमालको कर्नरमा विशालले सुन्दर गोल गरेका थिए ।
त्यसपछि खेलको ८० औं मिनेटमा मछिन्द्रले पेनाल्टी प्राप्त ग¥यो । डिफेन्डर पिटर सेगुनलाई एपीएफका खेलाडीले डिबक्सभित्र फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले मछिन्द्रलाई पेनाल्टी दिएका थिए । तर, रञ्जितले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पहिलो प्रहार एपीएफका गोलरक्षक राजु योगीले बचाएपछि आएको रिबाउण्डमा रञ्जितले गोल गरे । जुन गोल मच्छिन्द्रको जितमा निर्णायक बन्यो । खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङ म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मच्छिन्द्रले १० खेलमा २२ अंक जोडेको छ । र, मच्छिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबमाथि २ अंकको अग्रता बनाएको छ । ९ खेलमा आर्मीको २० अंक रहेको छ । एपीएफ १० खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
त्यसअघि सम्पन्न पहिलो खेलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले सरस्वतीमाथि ४—० को फराकिलो जित निकालेको हो । जितसँगै थ्रीस्टार १७ अंक जोड्दै शीर्ष ४ मा उक्लिएको छ । थ्री स्टारको जितमा सन्जोग राईले ३ गोल गर्दा लाल रामर्भाले १ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थ्री स्टारले ४ वटै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ४८ औं मिनेटमा रामर्भाले गोल गरेका थिए भने खेलको ५७ औँ, ६० औँ र ७१ औँ मिनेटमा राईले गोल गरेका थिए ।