लमजुङ – लमजुङको दोर्दी गाउँपालिका ५ उपल्लो पाचोकका वृद्ध धनमान घलेले ६९ वर्षको उमेरमा नेपाली नागरिकता प्रमाणपत्र पाएका छन ।
जिल्ला प्रशासन कार्यालय लमजुङबाट अशक्त अवस्थाका वृद्ध घलेलाई बुधबार उनकै घरमा पुगेर नागरिकता प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले घलेलाई घरमै पुगेर नागरिकता प्रदान गरेका हुन । वृद्धावस्थामा नागरिकता पाएपछि घले खुशी भएका छन ।
वृद्धावस्थामा नागरिकता नलिएको जानकारी आएपछि अशक्त अवस्थाका सेवाग्राहीलाई घरमै पुगेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी पुरीले बताए । अप्ठ्यारोमा परेका नागरिकको घरदैलोमा पुगेरै सेवा दिनु कर्मचारीको दायित्व रहेको र सो दायित्व पूरा गरेको प्रजिअ पुरीको भनाइ छ ।
नागरिकता नहुँदा वृद्धाभत्ता लिन, भूकम्पले बनाएको घर बनाउन र जग्गा जमिनको नामसारी लगायतका सरकारी कामकाजमा समस्या परेको गाउँपालिका उपाध्यक्ष विच्छबहादुर घलेले बताए ।
नागरिकता पाएसँगै ति सबै कामकाजको लागि सहज हुने उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ ११:५१