काठमाडौं– मलेसिया सरकारले रोजगकारीका लागि आउने विदेशी कामदारलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप अनिवार्य लगाउनु नपर्ने जनाएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले बुस्टर डोज खोपबारे प्रस्ट पार्दै रोजगारीका लागि आउने विदेशी कामदारलाई बुस्टर डोज बाध्यकारी र अनिवार्य नभएको जनाएको हो ।
मन्त्रालयले बुस्टर डोज जो कसैले लगाउनु उपयुक्त भए पनि बाध्य नपार्न रोजगारदाताहरुलाई समेत आग्रह गरेको छ । मलेसियाको प्रतिष्ठित सञ्चारमाध्यम ‘द स्टार’का अनुसार मलेसियाको एक कम्पनीले कोभिड–१९ विरुद्धको खोपको म्याद सकिन लागेपछि विदेशी कामदारलाई पुनः खोप लगाउन निर्देशन दिएको सार्वजनिक भएपछि मन्त्रालयबाट उक्त भनाइ आएको हो । सरकारको यस निर्णयले थुप्रै रोजगारदातालाई राहत मिलेको बताइएको छ । यसअघि कामदारलाई बुस्टर डोज खोप लगाउन बाध्य पारिएको र यसको खर्च रोजगारदाताले भुक्तानी गर्नुपर्ने भएपछि रोजगारदाताहरु त्यसको विरोधमा उभिएका थिए ।
मलेसियाका रोजगारदाताहरुको संगठनले पनि रोजगारीका लागि आउने श्रमिकले आफ्नै मुलुकमा कोभिड विरुद्धको बुस्टर डोज लगाएर आउनुपर्ने र उनीहरुको खर्च रोजगारदाताले व्यहोर्न नसक्ने भन्दै विज्ञप्ति नै जारी गरेको थियो । अब सरकारको निर्णयअनुसार रोजगारदाताहरुको संगठन (एफएमएम)का अध्यक्ष डा. सैयद हुसैन सैयद हुसमानले कुनै पनि रोजगारदातालाई आफ्नो कम्पनीमा काम गर्ने विदेशी कामदारलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज लगाउन बाध्य पार्न नपाइने बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १२:१३