काठमाडौं– मुलुकमा भित्रिने रेमिट्यान्समा निरन्तर सुधार देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्दा त्यसको प्रभाव रेमिट्यान्समा देखिएको हो । नेपाल राष्ट्र बैकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा माघ महिनामा एक खर्ब चार अर्ब ८० करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको उल्लेख छ ।
माघ महिनामा भित्रिएको रकम पुस महिनाको तुलनामा २२ करोड रूपैयाँले बढी हो । पुसमा एक खर्ब चार अर्ब ५८ करोड रूपैयाँ भित्रिएको थियो ।यससँगै चालु आर्थिक वर्षको सात महिनामा कूल छ खर्ब ८९ अर्ब ८८ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
यो वैधानिकरूपमा बैंकिङ च्यानलमार्फत भित्रिएको रकम हो । यसबाहेक हुण्डीलगायत अवैधानिक च्यानलबाटसमेत नेपालमा रकम भित्रिने गरेको छ ।तर, त्यसको हिसाब राष्ट्र बैंकलगायत कुनै पनि निकाससँग हुँदैन । राष्ट्र बैंकले हुण्डीलगायत अवैधानिकरूपमा रकम पठाउने कार्यलाई निरुत्साहित गर्न
विभिन्न योजना ल्याए पनि रोकिएको छैन ।
समीक्षा अवधिसम्म नेपाल भित्रिने रेमिट्यान्स २७.१ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आवको माघ महिनामा रेमिट्यान्स पाँच प्रतिशतले
घटेको थियो । अघिल्लो आवको तुलनामा गत पुस महिनामा पनि रेमिट्यान्स २४.३ प्रतिशतले बढेको थियो ।
माघ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह
५.३ प्रतिशतले घटेको थियो । रेमिट्यान्स बढ्नुमा वैदेशिक रोजगारीमा जाने नेपालीहरू बढ्नु मुख्य देखिन्छ ।
किनभने, रेमिट्यान्स भित्रिने मुख्य स्रोत नै वैदेशिक रोजगार हो । कोरोना महामारीका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प बन्दा रेमिट्यान्स लगातार घट्न
पुगेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले बढेको छ ।यस अवधिमा तीन लाख १४हजार ७६७ जनाले श्रम स्वीकृति लिएका हुन् ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्यासमीक्षा अवधिमा १०.१ प्रतिशतले बढेको देखिन्छ । उक्त अवधिमा एक लाख ६७ हजार ७०८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो ।
यस्तै, समीक्षा अवधिमा खुद ट्रान्सफर २२.७ प्रतिशतले वृद्धि भई छ खर्ब ४४अर्ब ७२ करोड रूपैयाँ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले घटेको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९ ०७:५६